असार ११, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् ।

बुधबार राति करिब ८ बजे ढुङ्गा-माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र सहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।
उद्धार टोलीले गाडीभित्र रहेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका हुँन् ।
पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।