वि.सं. २०७९ आश्विन १९ गते बुधवार तदनुसार ई. सं. २०२२ अक्टोबर ०५ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे, चन्द्रोदय : दिउँसो ०१:३७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:३० बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) दशमी तिथि, दिउँसो ११:१३ बजेसम्म, त्यसपछि एकादशी तिथि, श्रवण नक्षत्र, बेलुका ०९:३३ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । भेटघाटको समयमा व्यक्तिगत उन्नति/प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । कामको बोझ बढ्नेछ, अथक परिश्रम र कडा मिहिनेतको समय छ, तर पनि समुचित प्रतिफल प्राप्त गर्न नसक्दा मन दुखित बन्नसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । अर्काको सहयोग गर्न पाउँदा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । नियम/कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ, आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूणर् समर्थन रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ, तर पनि सही रणनीति बनाउनुका साथै तदनुसार कार्य गर्न सकेमा मात्र सफल बन्न सकिने छ । कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ । घरपरिवार वा प्रेयसीका लागि पनि केही समय छुट्याउनु पर्ने हुन्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, अतः कुनै महत्त्वपूर्ण निणर्य लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । दाम्पत्य जीवन सुखद रहनेछ र घरमा पनि सुखशान्ति र सम्मृद्धि छाउने समय हो । आज व्यवहार गर्दा बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुपर्छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । इच्छामुताबिकको कुनै काम वा धार्मिक/आध्यात्मिक कामका लागि समय व्यवस्थापन गर्नसकेमा तनाव र स्ट्रेसबाट मुक्ति पाउन सक्नुहुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । कुनै उदारमना वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ । मनमा तुस छ भने विशिष्ट व्यक्तिको उचित सल्लाह र सहानुभूति जुटाउन सकिने छ, सम्पत्तिसम्बद्ध बाधा हट्नेछन् । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । गरिआएको काम वा व्यापारिक गतिविधिमा कुनै पनि प्रकारको परिवर्तन ल्याउने प्रयास नगर्नुहोस्, वर्तमान परिस्थितिमा मात्र ध्यान दिनु बेस हुनेछ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ ।
