• २०८३ बैशाख २८ गते सोमवार

मादी नदीको कटानले ६६३ घरधुरी जोखिममा

rss पढ्न लाग्ने समय : १ मिनेट

भदौ, ९ तनहुँ । मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन्। गत आइतबारदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन्।

 

मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए। नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

 

नदी कटानका कारण त्यस क्षेत्रका करिब एक दर्जन संघसंस्था धरापमा परेका छन्। अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन पराशर पार्क, भूपू भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतको क्षति हुने देखिएको छ।

 

नगर प्रमुख बैकुण्ठ न्यौपानेले बाढीले कटान गरेका क्षेत्रमा रोकथामका लागि पहल गर्ने आश्वासन दिएको टोल विकास संस्थाका सचिव तेजबहादुर नेपालीले बताए। तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास छ।

Sharing

प्रतिक्रिया दिनुहोस