साउन २२, मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१५ सेल्फी रोडस्थित सामुदायिक वनमा अन्दाजी ३०–३२ वर्षीया एक महिलाको शव फेला परेको छ । शुक्रबार दिउँसो स्थानीयले च्याउ टिप्न जाँदा सेतो बोरामा बाँधेर खाल्टोमा फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल सुरक्षित राखिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार प्रहरीले बोरा खोलेर हेर्दा नाम, थर र ठेगाना नखुलेकी अन्दाजी ३०–३२ वर्षीया महिलाको शव फेला परेको हो ।
उहाँका अनुसार घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव हेटौँडा अस्पतालमा ल्याइएको छ । घटनाको प्रकृति, शवको पहिचान तथा घटनामा संलग्न व्यक्ति वा कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।