चैत्र १२, सर्लाही । सर्लाहीको लालबन्दीबाट १५ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार साँझ लालबन्दी नगरपालिका–७, मा ना २ ह ५९३६ नम्वरको अटोलाई चेकजाँच गर्दा सिटमुनि लुकाएर राखेको अवस्थामा १५ किलो गाँजा बरामद गरेको हो ।

गाँजा फेला परेपछि अटो चालक लालबन्दी नगरपालिका–११, का सोमबहादुर स्याङतानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा गाँजा लिन आउँदै गरेका थप दुई जना पनि पक्राउ परेका हुन् । अटो चालक स्याङतानको वयानका आधारमा बुधबार राती नै लालबन्दी नगरपालिका–७ स्थित कालिन्जोर खोलाबाट बीआर ३० टी ०१०३ नम्वरको मोटरसाइकलसहित ईश्वरपुर नगरपालिका–८, का ३२ वर्षीय रामविश्वास राउत र महोत्तरीको सोनमा गाउँपालिका–४ का ३३ वर्षीय रमाशङ्कर राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अटो चालक स्याङतानले रामविश्वास र रमाशङ्करलाई दिनका लागि गाँजा ल्याइदिएको बयान दिएका छन् । उनीहरु तीनै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।