मंसिर ८, काठमाडौं । पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षे शेर्पाको बुधबार बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।
नशा सम्बन्धी रोगले थला पर्नुअघि उनले अमेरिका, भारत र चीनमा गएर उपचार गराएका शेर्पा पछिल्लो झण्डै दुई वर्षदेखि सोही केयर होम रहेर उपचार गराइरहेका थिए ।
अमृत साइन्स क्याम्पसका पूर्व सभापति समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए । टेण्डीका बुवा, आमा, दुई दाई र बहिनी छन् ।
बौद्धस्थित शेर्पा गुम्बामा लगेर उनको अन्तिम संस्कारको प्रक्रिया सुरु हुने बताइएको छ ।