गुल्मी,९ साउन । आर्थिक वर्ष २०७७/७८ मा गुल्मीमा भएको ३७ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ जना पुरुष, पाँच जना महिला र एक बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यान्त्रिक, मानवीय र वातावरणीय कारण सवारी दुर्घटना भएको रहेको कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले बताए। गाडी पुरानो हुनु, समयमा मर्मतसम्भार नगर्नु, गाडी चलाउँदा चालकले मोबाइल फोन प्रयोग गर्नु, सडक चिप्लो र उकालो–ओरालो भएकाले दुर्घटना बढी हुने गरेको आचार्यको भनाइ छ।
यस्तै, गत आर्थिक वर्षमा सात हजार ९३९ वटा सवारी साधन कारवाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा परेका जिप/कार दुई हजार ८२४, मोटरसाइकल दुई हजार ६५१, ट्रयाक्टर ५०५, बस २६५ र ट्रक ६७० वटा गरी सात हजार ९३९ वटा छन्।
मालवाहक गाडीले क्षमताभन्दा बढी समान बोक्ने, जिप/कारले क्षमताभन्दा बढी यात्रु राख्ने, चालकले लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनीहरुलाई कारबाही गरिएको आचार्यले बताए।
ट्राफिक नियम पालना नगर्ने सवारी साधनमाथि कारबाही गर्दा ५१ लाख २३ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए। अघिल्लो आर्थिक वर्षमा ३१ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। पाँच हजार ८७ वटा सवारी साधन कारवाहीमा परेको कार्यालयले जनाएको छ।