• २०८३ बैशाख ३० गते बुधवार

पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

असार १०, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।

खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको हो । जसमा रोनाल्डोले सहजै गोल गरे । पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । पोर्चुगलका नेल्सन सेमिडोले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको हो ।

दोस्रो हाफको सुरुवातमै फ्रान्सका पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । तर, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-२ गोलको बराबरीमा ल्याए । फ्रान्सका जुलेसले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका हुन् ।

यस बराबरीसँगै समूह ‘एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । अब फ्रान्सले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

फ्रान्ससँगको बराबरीसँगै पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो । पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो । अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस