मंसिर ७, काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले दिल्लीमा राजनीतिक वृत्तदेखि सर्वसाधारणसम्म चासो र उत्साह सिर्जना गरेको छ । विशेषगरी भारतीय युवामाझ प्रधानमन्त्री शाहप्रति देखिएको आकर्षणले यो भ्रमणलाई थप चर्चामा ल्याएको छ । दिल्ली विमानस्थलमा उहाँको स्वागतका लागि पुगेका नेपालीसँगै भारतीय युवा जमातको बाक्लो उपस्थितिले पनि बालेनप्रतिको चासो नेपालमा मात्र सीमित नरहेको देखाएको छ ।

म आफैँपनि प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्ली विमानस्थल पुगेको थिएँ । त्यहाँ नेपाली समुदायका मानिससँगै भारतीय नागरिकहरुको पनि उपस्थिति थियो । विशेषगरी युवाहरूको सहभागिता उल्लेखनीय देखिन्थ्यो । उनीहरू कुनै राजनीतिक दलका नेता वा स्थापित राजनीतिक व्यक्तित्वका रूपमा भन्दा पनि बालेन्द्र शाहको व्यक्तिगत छविप्रति आकर्षित भएको देखिन्थ्यो ।
दिल्लीका विभिन्न स्थानमा प्रधानमन्त्री शाहको स्वागतका लागि ब्यानर र बोर्ड राखिएका थिए । विमानस्थलमा समेत ‘वेलकम’ लेखिएका ब्यानर देखिनु आफैँमा एउटा महत्वपूर्ण पक्ष थियो । यसअघि विभिन्न देशका उच्चपदस्थ नेता तथा प्रधानमन्त्री भारत भ्रमणमा आउँदा पनि यस्तो किसिमको जनस्तरको उत्साह मैंले कमै देखेको थिएँ । यसले बालेनप्रति भारतीय नागरिकहरुको पनि चासो बढिरहेको संकेत गर्छ ।
अहिले भारतका कतिपय युवाहरुले बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गरेर हेर्ने गरेको पनि पाइन्छ । उनीहरूका नजरमा बालेन पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रशासनिक सुधारका लागि काम गर्न सक्ने नयाँ राजनीतिक अनुहार हुन् । काठमाडौं महानगरपालिकाको मेयर हुँदा उहाँले गरेका काम र देखाएको कार्यशैलीले यस्तो धारणा निर्माण गर्न सहयोग गरेको हुन सक्छ ।
विशेषगरी भारतीय युवाहरूले पनि अहिले बालेनलाई एउटा नयाँ राजनीतिक आइकनका रूपमा हेर्न थालेको अनुभूति हुन्छ । यसले भारतीय युवामाझ पनि बालेनको व्यक्तिगत लोकप्रियता विस्तार भइरहेको संकेत गर्छ । यसको अर्को पक्ष भारतीय सञ्चारमाध्यममा पनि देखिएको छ ।
सोमबार मात्रै प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपतिले गार्ड अफ अनर प्रदान गरेर नेपाली प्रधानमन्त्रीको भ्रमणलाई महत्व समेत दिएका छन् । प्रधानमन्त्री शाहको भ्रमण र उहाँको गतिविधिलाई भारतीय सञ्चारमाध्यमले चासोका साथ पछ्याइरहेका छन् । उहाँ भारत आउँदै गर्दा विमानको उडान अवस्थासमेत धेरैले खोजी गरेको समाचारले पनि भारतीय जनस्तरमा रहेको उत्सुकता देखाउँछ । यो केवल एउटा विदेशी प्रधानमन्त्रीको भ्रमणप्रतिको सामान्य चासो मात्र होइन, नयाँ राजनीतिक व्यक्तित्वलाई नजिकबाट हेर्ने उत्सुकता पनि हो ।
बालेनको व्यक्तिगत छविले बढाएको चासो
बालेनप्रति भारतीय नागरिकको आकर्षणको मुख्य आधार उहाँको व्यक्तिगत छवि हो । काठमाडौं महानगरपालिकाको नेतृत्व गर्दा उहाँले परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाउनुभयो । सामाजिक सञ्जालमा सक्रियता, निर्णय कार्यान्वयनमा देखाएको शैली र राजनीतिक नेतृत्वप्रतिको फरक दृष्टिकोणले उहाँलाई नेपालमा मात्र होइन, भारतमा पनि परिचित बनाएको छ ।
भारतीय नागरिकले उहाँलाई नेपालको नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा हेरेको देखिन्छ । विशेषगरी भ्रष्टाचार र राजनीतिक बेथितिबाट आजित भएका युवाले नयाँ अनुहार र फरक कार्यशैली भएका नेताबाट परिवर्तनको अपेक्षा गर्नु स्वाभाविक हो । भारतमा पनि यस्ता अपेक्षा राख्ने युवाले बालेनलाई चासोका साथ हेरेका हुन सक्छन् ।
तर कुनै नेताको लोकप्रियता र शासन सञ्चालनको सफलता फरक विषय हुन् । काठमाडौं महानगरपालिकामा गरेको कामको आधारमा उहाँप्रति अपेक्षा बढेको भए पनि प्रधानमन्त्रीका रूपमा उहाँले सामना गर्नुपर्ने चुनौती फरक प्रकृतिका छन् । देशको अर्थतन्त्र, प्रशासन, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नु महानगरपालिकाको नेतृत्व गर्नुभन्दा धेरै जटिल जिम्मेवारी हो । त्यसैले भारतीय नागरिकमा देखिएको अहिलेको उत्साहलाई भविष्यमा उहाँले गर्ने कामसँग जोडेर हेर्नुपर्छ ।
भारतसँगको सम्बन्धमा नयाँ सन्देश
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई उहाँको व्यक्तिगत लोकप्रियतासँगै दुई देशबीचको सम्बन्धका दृष्टिले पनि महत्वपूर्ण मान्नुपर्छ । यसअघि बालेन भारतप्रति अनुदार हुनुहुन्छ वा भारतसँग दूरी कायम राख्न चाहनुहुन्छ भन्ने खालका धारणा पनि सार्वजनिक भएका थिए । तर प्रधानमन्त्री बनेपछि भारत भ्रमणमा आउनुले नेपाल आफ्नो छिमेकीसँग संवाद र सहकार्यका लागि तयार छ भन्ने सन्देश दिएको छ ।
नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सामाजिक रूपमा गहिरो छ । दुई देशको सम्बन्धलाई केवल राजनीतिक नेतृत्वको दृष्टिकोणबाट मात्र हेर्न मिल्दैन । जनस्तरमा रहेको सम्बन्ध, खुला सीमा, व्यापार, पारवहन र सुरक्षाका विषयले दुवै देशलाई एकअर्कासँग जोडेको छ । नेपालको स्थायित्व र आर्थिक विकास भारतका लागि पनि महत्वपूर्ण छ भने नेपालको विकासमा भारतसँगको सहकार्यको ठूलो भूमिका रहन्छ ।
यसपटकको भ्रमणले दुई देशबीचको संवादलाई थप सहज बनाउने अपेक्षा गर्न सकिन्छ । भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु, हवाई रुटको विषयमा छलफल अघि बढाउनु तथा धार्मिक पर्यटन र व्यापारिक सहकार्य विस्तार गर्नु भ्रमणका महत्वपूर्ण पक्ष हुन् ।
विशेषगरी वर्षौंदेखि सञ्चालनमा आउन नसकेको हवाई प्रवेशमार्गको विषयमा सकारात्मक प्रगति हुन सके नेपालको पर्यटन र व्यावसायिक गतिविधिमा प्रत्यक्ष लाभ पुग्नेछ । त्यस्तै, अयोध्या र जनकपुरबीचको धार्मिक सम्बन्धलाई पर्यटनसँग जोड्न सके जनकपुरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ।
तर दुई देशबीच सीमा विवादलगायतका संवेदनशील विषय पनि छन् । यसपटकको भ्रमणको कार्यसूचीमा सीमा विवादले प्राथमिकता पाएको देखिँदैन । सम्बन्ध सुधारका लागि संवाद आवश्यक भए पनि नेपालको राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयलाई बेवास्ता गर्न मिल्दैन ।
समग्रमा दिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति देखिएको उत्साहलाई एउटा नयाँ राजनीतिक व्यक्तित्वप्रतिको आकर्षणका रूपमा बुझ्न सकिन्छ । भारतीय युवाले उहाँमा परिवर्तनको सम्भावना देखेका छन् । यो नेपालको नयाँ नेतृत्वप्रति छिमेकी देशका नागरिकले राखेको अपेक्षाको संकेत पनि हो ।
तर अहिले देखिएको लोकप्रियता र उत्साहलाई दीर्घकालीन विश्वासमा बदल्ने जिम्मेवारी प्रधानमन्त्री शाहकै हो । भारतसँगको सम्बन्धलाई सन्तुलित बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने र नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर कूटनीति सञ्चालन गर्न सके उहाँप्रति देखिएको अहिलेको आकर्षणले थप अर्थ पाउनेछ ।
(लामो समदेखि नयाँ दिल्लीमा बस्दै आएका झा नेपाल– भारत अध्य्यनसम्बन्धमा रुचि राख्छन ।)