• २०८३ जेष्ठ ८ गते शुक्रवार

राष्ट्रपतिद्वारा पशुपतिनाथमा प्राणप्रतिष्ठा पूजा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फाल्गुन १२, काठमाडौँ । पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गर्नुभयो ।

प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका स्थापना गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । ज्योतिर्लिङ्ग भएका स्थानमा पशुपतिनाथका पुजारीबाहेक अरुले छुन नपाउने विधि छ ।

विसं १८३८ मा रणबहादुर शाहका पालामा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको पीठिका जीर्ण भएपछि २०२४ साल माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको अभिलेख पशुपतिमा रहेको पनि उहाँले जानकारी दिनुभयो । विसं २०२४ मा चाँदीको पीठिकामा गरिएको मर्मत फेरि जीर्ण भएपछि सुनको पीठिका निर्माण गरिएको कोषले जनाएको छ ।
सुनको पीठिका स्थापना गर्नुअघि गत शनिबारदेखि पशुपतिनाथ मूल मन्दिरमा १२५ ब्राह्मणले क्षमा पूजा गरेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । पूजा गर्न २५ ब्राह्मण दक्षिण भारतबाट ल्याइएको थियो ।

सो अवसरमा रुद्राभिषेक, चार वेद र शिवपुराण पाठपारायण एवं वास्तु र तन्त्र विधिबाट समेत पूजा आराधना गरिएको पनि उहाँले बताउनुभयो । सोक्रममा राष्ट्रपति भण्डारीले दक्षिण भारतबाट विशेष निमन्त्रणा गरिएका पाँच ब्राह्मणबाट गरिएको शान्तिपाठ श्रवण गर्नुभएको कोषले जनाएको छ ।

प्राणप्रतिष्ठापछि राष्ट्रपति भण्डारीले राष्ट्रको शान्ति र अमनचयनका लागि सङ्कल्प प्रार्थना गर्नुभएको थियो । उहाँका सञ्चार तथा सूचनाविज्ञ टीका ढकालका अनुसार उक्त पूजाआजा करीब ४५ मिनेट चलेको थियो । त्यसपछि राष्ट्रपतिले सो क्षेत्रका शक्तिपीठको दर्शनसमेत गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस