पौष ८,काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताउनुभएको छ । नेपाल तरुण दलका अध्यक्षसमेत रहनुभएका बस्नेतको सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनले पार्टीको भविष्य उज्ज्वल बनाएको बताउनुभयो ।
“कांग्रेस तीनै तहको निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्नेछ,” उहाँले भन्नुभयो । कांग्रेसलाई आगामी दिनमा ठूलो पार्टी बनाइने उहाँको भनाइ थियो । आगामी तीनै तहको निर्वाचनमा तेरो मेरोभन्दा पनि राम्रो व्यक्तिलाई टिकट दिनुपर्ने बस्नेतले बताउनुभयो । पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखाएको इमान्दारिता र निष्ठाको बाटोमा हिँडेमात्र कांग्रेस बलियो बन्ने उहाँले उल्लेख गर्नुभयो । तरुण पार्टीको मेरुदण्ड भएकाले आगामी दिनमा त्यसलाई बलियो बनाउन आवश्यक भएको बस्नेतले बताउनुभयो ।नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले अध्यक्ष बस्नेतको जीत देशभरीका तरुणको जित भएको बताउनुभयो ।