असोज ७, काठमाडौं । अमेरिकाको न्यूयोर्क विश्वविद्यालयले सञ्चालन गरेको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रम अन्तर्गत सोमबार न्युयोर्कबाट आयोजना गरेको भर्चुअल कार्यक्रममा छनोट भएका शहरको नाम घोषणा गर्यो।
घोषणामा गरिएको नाममा अमेरिकाको सिटी अफ न्यूयोर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिक्यु, अमेरिकाको सिटी अफ स्यरक्यूस रहेका छन्।
त्यस्तै, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेडरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १० मा पर्न सफल भएका छन्। यसैभित्र विश्वकै उत्कृष्ट १० मा नेपालको चाँगुनारायण नगरपालिका पनि परेको छ।
नगरपालिकाका उपप्रमुख वीणा बाँस्तोलाले गोभल्याबको ओपन सिटी इन्क्युबेटरले सार्वजनिक गरेको शहरमा चाँगु नगरपालिका पनि परेको थाहाखबरसँग कुरा गर्दै जानकारी दिइन।
नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले नगरपालिकाले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेट फर्मका कारण यो उपाधि हासिल गर्न पाएको बताए।
नेपालको तर्फबाट अन्तर्राष्ट्रिय जगतमा उपाधि जित्ने चाँगु पहिलो नगरपालिका रहेको उनको भनाई छ। उनका अनुसार छनोट हुने शहरले आगामी ६ महिनासम्म विश्व प्रसिद्ध डाटा विज्ञबाट लिइएको तालिममा सहभागी हुन पाउने छन्। त्यस कार्यक्रममा आफ्ना डाटासम्बन्धी गतिविधिका कार्यक्रम प्रस्तुत गर्न सकिने छ।
‘ओपन सिटी इन्क्युबेटरका कार्यक्रम सञ्चालक एन्ड्रिइन्नी स्हमोकरले कार्यक्रममा नेपालजस्तो विकासोन्मुख देशको नगरपालिकाले खुला तथ्यांक प्रविधिको क्षेत्रमा राखेको सोचले यस क्षेत्रमा कार्य गर्ने सबैलाई उत्साहित बनाएको बताउनु भएको छ,यो खुसी हाम्रो नभई समग्र नेपाली बासीको हो,’न्याैपानेले भने।
के हो ओपन डाटा प्लेट फार्म ?
नगरपालिकाका अधिकृत विजय कुमार शर्माका अनुसार यो प्लेट फार्म भनेको नगरपालिकाका जनतालाई आवश्यक पर्ने सबै तथ्यांकका विवरणहरु त्यहाँ राखिन्छ। यो तथ्यांक राख्ने पाेर्टल नै हो।
‘हामीले यही पोर्टलमा जनतालाई आवश्यक पर्ने सबै डाटाहरु खुला रुपमा राख्यौँ,’उनले भने,‘त्यसमा हामी पहिलै देखि आवश्यक पर्ने सबै तथ्यांकहरु राखेका थियौँ,त्यही भएर उत्कृष्ट १० शहरमा हाम्रो नगरपालिका पनि आयो।’
उनका अनुसार यी पोर्टलमा कुनै तथ्यांक लुकाइँदैन। सूचनाकाे हक प्रयोग गर्न निवेदन दिइ राख्नु पर्दैन। नगरपालिकाको आर्थिक हिसाबदेखि सबै विवरण तथ्यगत रुपले राखिन्छ। यस्ता विवरण नगरपालिकाको वेबसाइटमा पनि राखिएको उनले बताए।