चैत १०, काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ ।
काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड–१९ ले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा डिप्रेसन ९अवसाद०, चिन्ता, तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताउनुभयो ।

“अब मानसिक स्वास्थ्य समस्या समाधानका लागि मनोविमर्श सेवा नै जरुरी छ”, उक्त संस्थाका अध्यक्षसमेत रहनुभएका मनोविद् डा ठगुन्नाले भन्नुभयो, “सरकारी र गैरसरकारी क्षेत्रबाट पनि सशक्त अभियान नै चाल्नु जरुरी छ । यसपालि उक्त संस्थाबाट १०औँ र ११औँ समूहमा सहभागी १४ प्रशिक्षार्थी दीक्षित भएसँगै उहाँहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।
संस्थाका संस्थापक अध्यक्ष पदमराज जोशीले दीक्षित प्रशिक्षार्थीले मानसिक स्वास्थ्य जोखिममा रहेका समुदायलाई मनोविमर्श सेवा प्रदान गर्न सक्ने र आवश्यक परेमा मनोविद् वा मनोचिकित्सककहाँ पठाउन सक्ने योग्यता प्राप्त गर्नेछन् । कम विकसित मुलुकमा विज्ञको अभाव हुँदा यसरी तामिल प्रदान गरेर मनोपरामर्शदाता सेवा दिने गरिएको छ । सोहीअनुसार नेपालमा पनि छ महिने तालिम दिएर मनोपरामर्शदाता उत्पादन गरिँदै आइएको छ ।