असोज ६, सुनसरी । प्रहरीले अलैची ठगीमा संलग्न १ जनालाई पक्राउ गरेको छ । प्रहरीले अलैची ठगीमा संलग्न रहेको अभियोगमा सुन्दर हरैचा नगरपालिका-४ वलिया बस्ने तेह्रथुम आठराई गाउँपालिका-५ घर भएका ४३ वर्षीय सुरेश कुमार भट्टराईलाई मंगलबार पक्राउ गरेको हो ।
खोटाङ साकेला गाउँपालिका-२ बस्ने रन्जीत राई समेतले अलैची बिक्रीको लागि २०७७ पुस ५ गते सुरेशसँग फोन सम्पर्क गरी ईटहरी उपमहानगरपालिका-५ जन्ताबस्तीस्थित शेषराज गुरुङको घरमा गोदाम भाडामा लिई राखेकोमा सोही रात नै गोदामबाट अलैची उठाएर लगि सकेको र बुझी लिने ब्यक्तिहरुको मोबाइल नम्बर समेत बन्द भएको भन्ने पीडितहरुको निवेदनको आधारमा अनुसन्धान समूह बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले मुख्य योजनाकार सुरेशलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमसँगको समन्वयमा तेह्रथुमको म्यागलुङमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत सुनसरीमा पेश गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।