असार ७, काठमाडौं । माधवकुमार नेपालले एमाले संस्थापन पक्षले पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको दाबी गरेका छन्। सोमबार फेसबुकमार्फत उनले कर्णाली प्रदेशका सांसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने उल्लेख गरेका हुन।

कर्णाली प्रदेशका चार सांसदहरूलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरूद्ध एमाले भ्याकेटमा गएको छ। आइतबार भ्याकेट सर्वोच्चमा दर्ता भएको छ। त्यसको सुनुवाइ मंगलबारका लागि तोकिएको छ। नेपालले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखिएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेखेका छन : कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।
