जेठ ७, नवलपरासी । सङ्घीय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेकप्रताप शाह सवार कार दुर्घटना भएको छ । कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाह काठमाडौँ आउने क्रममा बा१५च ७५२३ नम्बरको कार अनियन्त्रित भई बिहान दुर्घटनामा परेको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साहसहित तीन जना सामान्य घाइते भएका छन् । दुर्घटनामा शाहका स्वकीय सचिव सूर्यप्रताप शाह र चालक महेशकुमार पासवानसमेत घाइते भएका छन। दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जानको स्थानीय मेडिकलमा उपचारपश्चात सांसद शाह र उनका स्वकीय सचिव शाह अर्को गाडी खोजेर काठमाडौँ आउनु भएको छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उनी गृह जिल्लाबाट काठमाडौँ जान लागेको बुझिएको छ ।