• २०८३ बैशाख ५ गते शनिवार

दैलेखमा इन्जिनियर र ठेकेदारको लापरवाहीले दुइवटा खानेपानी योजना अलपत्र

जितेन्द्र थापा पढ्न लाग्ने समय : ४ मिनेट

असोज ४, सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेका दुइवटा खानेपानी योजना अलपत्र परेका छन् । गाउँपालिकाको वडा नम्बर ३ मा रहेको माझर्खक ठुलाछहरा खानेपानी र वडा नम्बर १ को मुंग्रा गताड खानेपानी योजना अलपत्र परेका हुन् ।

गत आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ५ लाख रुपैयाँ बजेट छुट्याएर काम सुरु भएको माझर्खक ठुलाछहरा खानेपानी योजना तीन वर्ष पुगिसक्दा पनि ठेकेदारको लापरवाहीले अलपत्र परेको स्थानीयको भनाई छ । गाउँपालिकाकै वडा नम्बर १ मा रहेको मुंग्रा गताड खानेपानी योजना पनि अलपत्र अवस्थामा रहेको छ । गत आर्थिक वर्ष २०७५/७६ बाट संचालन भएको उक्त खानेपानी योजना समितिले काम नगरेर अलपत्र परेको स्थानीय बताउँछन् । २०७५/७६ बाट सुरु भएको खानेपानी योजना अलपत्र पर्दा अढाई सय घरधुरी पानी पिउनबाट वञ्चित भएको स्थानीय मुकुन्द रेग्मीले बताए । गत आर्थिक वर्ष ०७५/७६ मा गाउँपालिकाको ३३ लाख रुपैयाँ लागतको खानेपानी योजना पूरा नहुँदै अलपत्र अवस्थामा छ, उनले भने ।

त्यस्तै माझर्खक ठुलाछहरा खानेपानीका सचिव नेम बहादुर दशौँदीका अनुसार १२ वटा टयांकी र ७८ वटा धारा बनाउनुपर्नेमा १० वटा धारा १२ घनमिटरको एउटा टयांकी, १० घनमिटरका दुईवटा र २ घनमिटरका ३ वटा ट्यांकी बनाएर योजना बिचैमा अलपत्र पारिको उनको भनाई छ । खानेपानी नबन्नुमा मुख्य दोष गाउँपालिकाका सव इन्जिनिएर लवराज सिजापति र निर्माण व्यवसायी उपेन्द्र बोहोराको लापरवाहीले योजना अलपत्र परेको खानेपानी उपभोक्ता सचिव दशौँदीको आरोप छ । ‘प्राविधिकलाई बारम्बार खानेपानी योजनाको स्टमेट उपलब्ध गराउन भनिएपनि दिएनन्,’उनले भने,‘स्टमेट ल्याएर आउँछौँ भनेर साँझको समयमा आउनुुभयो,विहान हेरौँला भने,विहान हरायो भनेर फिर्ता भइहाल्नुुभयो ।’

उता विजय कन्ट्रक्सनका निर्माण व्यवसायि उपेन्द्र बोहोराका अनुसार आफुले भ्याटसहित ९३ लाखको योजना हो,आफुले ६० लाख पाउनुपर्ने हो ।स्टमीट अनुसार ७८ वटा धारा बनाउनुपर्ने हो । इन्जिनियरले अनुमन गरेपनि गाउँपालिका अध्यक्षले भुक्तानी नदिएको बताए । योजनासम्बन्धि गाउँपालिकाका सव इन्जिनियर लवराज सिजापति त्यहाँका स्थानीयवासीका अवरोधका कारण सम्पन्न हुन नकेको हो,अन्य कुरा भने आफुलाई जानकारी नभएको जवाफ दिन्छन । यता मुंग्रा खानेपानी योजना अन्तर्गत ३३ लाखमा १० हजार लिटरका २ वटा ट्यांकी र ९९ वटा धारा बनाउने स्टिमेटमा उल्लेख भए पनि २ वटा ट्यांकी मात्र बनाएर समितिले योजना अलपत्र पारेको स्थानीय मुकुन्द रेग्मीले बताए ।

गाउँपालिकाले टेन्डर गर्दा विजय कन्ट्रक्सनले ठेक्का पाएको थियो । ठेक्का पाइसकेपछि काम नगरेर बिचैमा अलपत्र छोड्दा भुक्तानी नदिएको गाउँपालिका अध्यक्ष धीर बहादुर शाही बताउँछन् ।

यता ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही मुंग्रा गताड खानेपानी योजनाको बारेमा आफुलाई जानकारी नभएको बताउँछन् । मुग्रा गताड खानेपानी योजनाको बारेमा जानकारी छैन,‘उनले भने,‘माचखर्क ठुलाछहरा खानेपानी योजनाका लागि पर्याप्त बजेट नभएकाले योजनालाई क्रमागत रुपमा राखिएको थियो । सोही अनुसार गाउँपालिकाले टण्डर गर्दा विजय कन्ट्रक्सनले ठेक्का पाएको थियो । ठेकेदारले काम नगरेर बिचैमा अलपत्र छोड्दा भुक्तानी दिइएको छैन ।’ के कति काम भएको छ भन्ने अनुगमन गरेपछि थाह हुन्छ । गाउँपालिकाबाट भुक्तानी पनि दिइएको छैन । योजनाको फाइल मसँगै छ ।’

मजदुरले पाएनन् ज्याला
गाउँपालिकाको १ र ३ नम्बरको दुइवटै खानेपानी योजनाबाट काम गरेका मजदुरले हालसम्म ज्याला समेत पाएका छैनन् । मुंग्रा गताड खानेपानी योजनामा काम गरेका मजदुरले आफुले काम गरेको ज्याला नपाएको गुनासो गरेका छन् । ‘आयोजनामा १५ दिनसम्म काम गरियो । गिटी कुटियो । बालुवा बोक्दासम्मको ज्याला पाउन सकिएन’, वडा –१ नदाईकी स्थानीय टिकुली रोकाले भनिन, ‘साँझ–बिहानको छाक टार्न धौ–धौ हुन्छ । काम गरेको पैसा कसैले दिएनन ।’

खानेपानीको विषयमा बारम्बार बुझ्न खोज्दा पनि समितिले बेवास्ता गरेको वडा नम्बर १ का वडा सदस्य मीन खनाल बताउँछन । पहिलेको समितिले काम नगरिदिदा उनीहरुकै सहमतिमा समिति पनि परिर्वतन भयो । नयाँ समिति बन्यो । उनीहरुले पनि काम सुरु गरे तर, केही दिन काम गरिसकेपछि उनीहरुपनि सम्पर्कविहिन भएर अलपत्र अवस्थामै छ ।’ ‘बारम्बार समितिलाई भने पनि वास्ता गरेनन । अहिले डेढ सय घरधुरीका ८ सय परिवार पानी पिउनबाट वञ्चित छन,’उनले भने, ‘ गाउँपालिकाको ३३ लाख बजेट मध्य पहिलेको समितिले १७ लाखको काम गरेर विचैमा छोडे । नयाँ समिति परिर्वतन पश्चात् पाँच लाखजतिको काम गरेर रकम भुक्तानी गर्न खोजेका थिए । रकम झिक्न नदिन गाउँपालिकालाई भनेर रकम भुक्तानि नगर्दा अहिले उनीहरु सम्पर्कविहीन छन् ।’

Sharing

प्रतिक्रिया दिनुहोस