मंसिर ३, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको समयसीमा सम्झाएको बताइएको छ ।

अमेरिकी पक्षले अनुदान सहयोग लिने वा नलिने बारेमा नेपाल छिट्टै निर्णयमा पुग्नुपर्नेमा जोड दिएको बताइएको छ । जवाफमा प्रचण्डले यसबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जवाफ दिनुभयो । जवाफमा प्रचण्डले अमेरिकी सहयोग लिन्नौं भन्ने आफ्नो धारणा नभए पनि एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको बताउनुभएको स्रोतले जनाएको छ । प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको अध्यक्ष प्रचण्डले बतानुभयो ।
स्रोतका अनुसार प्रचण्डले भन्नुभयो, ‘सहयोग लिन्छौं तर एमसीसीको बारेमा तयार पारिएको सुरुआती दस्तावेजलाई पछि संशोधन गरिएको रहेछ । संसदबाट पारित गर्नुपर्ने लगायतका विषय राखिएका रहेछन् । त्यसैले यो नेपालमा विवादको विषय बनेको छ र यसमा हाम्रा पनि केही प्रश्नहरु छन् । हामी सबै नेपालीहरुले एउटा साझा समझदारी बनाउने प्रयास गर्छौं, छलफल गर्छौं । यो विषय संसदमा पनि जान सक्छ र हुन्छ कि हुँदैनको विषय बन्न सक्छ । दलहरुले यसमा आफ्नो मत संसदभित्रै राख्ने अवस्था पनि आउन सक्छ ।’