वैशाख २६, काठमाडौं । इरान युद्धको असर अब चीनको ऊर्जा आपूर्तिमा पनि देखिन थालेको छ । अप्रिल महिनामा चीनको कच्चा तेल आयात २० प्रतिशतले घटेको छ । होर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावका कारण तेल ट्यांकरहरूको आवागमन प्रभावित भएपछि चीनको आयातमा गिरावट आएको हो ।

चीनको भन्सार विभागको तथ्यांकअनुसार अप्रिलमा चीनले ३ करोड ८५ लाख मेट्रिक टन कच्चा तेल आयात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कम हो । यो स्तर जुलाई २०२२ यताकै सबैभन्दा कम रहेको बताइएको छ । चीनले आफ्नो आवश्यकताको करिब आधा कच्चा तेल मध्यपूर्वी देशहरूबाट खरिद गर्दै आएको छ । प्रतिवेदनअनुसार होर्मुज जलडमरूमध्यमा बढेको संकट र समुद्री मार्गमा तनाव चुलिँदा तेल तथा प्रशोधित इन्धन बोकेका जहाजहरूको संख्या घटेको छ । जहाज अनुगमन गर्ने कम्पनी केप्लरका अनुसार समुद्री मार्गबाट चीनमा हुने कच्चा तेल आयात घटेर दैनिक ८० लाख ३० हजार ब्यारेलमा सीमित भएको छ । यो पनि जुलाई २०२२ पछिकै सबैभन्दा न्यून स्तर हो ।
अप्रिल महिनामा चीनको प्राकृतिक ग्यास आयात पनि १३ प्रतिशतले घटेर ८४ लाख २० हजार टनमा झरेको छ । यद्यपि चालु वर्षको पहिलो चार महिनाको समग्र तथ्यांक हेर्दा चीनको कुल तेल आयात अझै अघिल्लो वर्षभन्दा १ दशमलव ३ प्रतिशतले बढी रहेको छ । जनवरीदेखि अप्रिलसम्म चीनले १८ करोड ५३ लाख टन कच्चा तेल आयात गरेको तथ्यांकमा उल्लेख छ ।