वैशाख २६, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो । यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ । प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो । दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने स्पष्ट पार्नुभएको छ । जनताले पोर्टलमा दिएका आफ्ना सुझावहरूको पछिल्लो अवस्था र सरकारले चालेको कदमका बारेमा जानकारी लिन सकिने गरी ‘सुझाव ट्र्याक’ गर्ने विशेष सुविधा समेत यस प्रणालीमा समावेश गरिएको छ । सरकारले यस महत्वपूर्ण डिजिटल पहलमा सक्रियताका साथ सहभागी भई ‘समृद्ध नेपाल’ निर्माणको महाभियानमा रचनात्मक योगदान पुर्याउन सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरेको छ । नागरिकहरूले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन् । सुझावका लागि : https://suggestions.opmcm.gov.np/
२- नेपाली कांग्रेसका सभापति गगन थापाले गत निर्वाचनमा १० लाख काँग्रेसका मतदाताले रुखमा भोट नदिएको बताएका छन् । धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूपश्चिमको स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले चुनाव हारेपनि जिम्मेवारीबाट भाग्न नमिल्ने बताउदै १० लाख काँग्रेसका मतदाताले रुखमा मत नदिएको बताएका हुन् । सभापति थापाले रुखमा मत नदिने काँग्रेसका नेताहरुलाई पनि तत्काल कुनै जिम्मेवारी नदिने स्पष्ट गरे । उनले नेतासँग असन्तुष्टि भयो भन्दैमा कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिनँ भन्न पाइँदैन भन्दै अन्त भोट हाल्नेलाई जिम्मेवारी नदिने बताए । सभापति थापाले रास्वपाका नेता कार्यकर्तालाई सरकारको गलत कामको विरोध गर्न आग्रह गर्दै आफुहरुले पनि विगतमा आफ्नै सरकारका गलत कामको विरोध गरेको उल्लेख गरेका थिए । उनले सरकारका सुशासनका सन्दर्भमा गरेका सकारात्मक प्रयासलाई समर्थन गर्ने तर शक्ति र सत्ताको आडमा लोकतन्त्र नियन्त्रण गर्न खोजिए विरोध गर्ने स्पष्ट गरे । साथै उनले अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी समस्यामा राज्य संवेदनशील हुनुपर्ने भन्दै सबैको आत्मसम्मानको रक्षा सरकारले गर्नुपर्ने बताए । सभापति थापाले प्रदेश सरकारहरुले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिए ।
३- तमिलनाडुमा नयाँ सरकार गठनको तस्वीर अब लगभग स्पष्ट भएको छ । विदुथलाई चिरुथैगल काचीले आधिकारिक रूपमा तमिऴगा वेत्री कळगमका प्रमुख विजयलाई समर्थन दिने घोषणा गरेको छ । साथै इन्डियन युनियन मुस्लिम लिगका दुई विधायकले पनि समर्थन जनाएका छन् । यससँगै तमिऴगा वेत्री कळगम राज्य विधानसभामा बहुमतका लागि आवश्यक जादुई संख्या ११८ पार गर्न सफल भएको छ । विदुथलाई चिरुथैगल काचीको समर्थनपछि विजय नेतृत्वको सरकार गठनको बाटो सहज बनेको छ । अभिनेता विजयले शुक्रबार लगातार तेस्रो दिन तमिलनाडुका राज्यपालसँग भेट गरेर सरकार गठनको दाबी पेश गरेका थिए । यसअघि उनीसँग ११६ विधायकको मात्र समर्थन पत्र रहेको बताइएको थियो । विजयले मे ६ र ७ तारिखमा पनि सरकार गठनको दाबी पेश गरेका थिए । त्यसबेला राज्यपालले ११८ विधायकको समर्थन नदेखाई सरकार गठनका लागि आमन्त्रण गर्न नसकिने बताएका थिए । तमिऴगा वेत्री कळगमलाई समर्थन गर्ने दलहरूमध्ये कांग्रेस पहिलो दलमध्ये एक हो । कांग्रेससँग पाँच विधायक छन् । भारतीय कम्युनिस्ट पार्टीले “स्थिर र लोकतान्त्रिक शासन” का लागि समर्थन जनाएको छ । उक्त दलसँग दुई विधायक छन् । मार्क्सवादी कम्युनिस्ट पार्टीले पनि आधिकारिक रूपमा समर्थन पत्र बुझाएको छ र उसका पनि दुई विधायक छन् । थोल थिरुमावलवन नेतृत्वको विदुथलाई चिरुथैगल काचीले मे ९ मा समर्थन पत्र बुझाउँदै लामो समयदेखिको अन्योल अन्त्य गरेको हो । यस पार्टीसँग दुई विधायक छन् । इन्डियन युनियन मुस्लिम लिगका दुई विधायकले पनि समर्थन दिएपछि गठबन्धनको संख्या १२१ पुगेको छ । २३४ सदस्यीय तमिलनाडु विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्छ । तमिऴगा वेत्री कळगमले चुनावमा १०८ सिट जितेको थियो । कांग्रेसका पाँच, भारतीय कम्युनिस्ट पार्टीका दुई, मार्क्सवादी कम्युनिस्ट पार्टीका दुई तथा विदुथलाई चिरुथैगल काचीका दुई विधायकको समर्थनपछि गठबन्धनको संख्या १२१ पुगेको हो । यद्यपि विजय दुई निर्वाचन क्षेत्रबाट निर्वाचित भएकाले प्रभावकारी रूपमा उनको एउटा मात्र सिट गणना हुने बताइएको छ । त्यसअनुसार गठबन्धनको प्रभावकारी संख्या १२० रहनेछ । यससँगै विजयको नेतृत्वमा तमिलनाडुमा नयाँ सरकार गठन हुने बाटो लगभग स्पष्ट भएको छ
४- बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसेढुङ्गा सावित हुने विश्वास लिइएको बताएकी छन् । यो विशेष अभियान सोमबारदेखि सुरु भई जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचारअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसलाई कार्यान्वयनका लागि देशभरका निकायलाई निर्देशन दिइसकेको छ । अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई निर्देशन दिइसकिएको प्रधानमन्त्रीका प्रेसविज्ञ दाहालले जानकारी दिइन् । प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आह्वान गरी सोको नियमित अनुगमन गर्नेछन् । यस्तै, जिल्ला प्रशासन कार्यालयलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचारप्रसार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ । केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेछन् । बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिनेक्रम बढेको विषयमा गुनासा बढेपछि सरकारले अभियान सञ्चालन गर्न लागेको हो । बजारमा उपलब्ध हुने हरेक वस्तु तथा सेवाको मूल्यमा स्पष्टता र पारदर्शिता ल्याउन, व्यापारी र सेवा प्रदायकलाई जवाफदेही बनाउन, अनिवार्य मूल्यसूचीको व्यवस्था लागू गर्न र अनुगमन प्रणालीलाई चुस्त बनाउँदै दोषीमाथि तत्काल कारबाही सुनिश्चित गर्न यो अभियान सुरु गर्न लागिएको जनाइएको छ ।
५- नेपाल ए ले स्कटल्याण्डमाथि ९ रनको जित हासिल गरेको छ । माथिल्लो मुलपानी मैदानमा शनिबार सम्पन्न वर्षाले प्रभावित खेलमा नेपाल ए डिएलएस मेथड अनुसार ९ रनले विजयी भएको हो । यो अभ्यास सिरिजमा नेपाल एको लगातार तेस्रो जित हो भने स्कटल्याण्डविरूद्ध दोस्रो जित हो । स्कटल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछाएको नेपाल ए ले ३४.५ ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाउदा खेल बर्षाले अवरुद्ध भएय्को थियो । त्यसपछि खेल पुन: सुचारु हुन सकेन र खेलको निर्णय डिएलएस मेथडबाट गरिएको थियो । नेपाल ए का लागि सन्दीप जोरा अविजित ८३ रन बनाए भने इशान पाण्डेले ५०, तृतराज दासले २४ रन, बसिर अहमदले २० रन र मयान यादवले १२ रन बनाएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै जर्ज मुन्सीको ६२, माइकल इङ्लिस अविजित ५६ रन र रिची बेरिङ्टनले ४० रनको सहयोगमा ३०२ रन बनाएको थियो । त्यस्तै नेपाल ए का बलर आकाश चन्दले ३ विकेट लिएका थिए । अब यो अभ्यास सिरिज अन्तर्गत नेपाल ए ले सोमबार अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
६- अभिनेत्री शिल्पा मास्के विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी तथा ट्याटु आर्टिस्ट फ्लावर केसीसँग लगनगाँठो कसेकी हुन् । उनीहरूको विवाह हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा भएको हो । कोबाङ गाउँमा अवस्थित लज थासाङ भिलेजमा भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको मात्र उपस्थिति रहेको थियो । शिल्पाले विवाहका केही तस्वीरहरू फेसबुक र इन्स्टाग्राममा सेअर गर्दै प्रकृतिको बीचमा विवाह गर्ने आफूहरूको सपना पूरा भएको उल्लेख गरेकी छन् । विवाहका हरेक क्षण सपनाजस्तै रहेको बताउँदै उनले भनेकी छन्, ‘एक समय कल्पनामा मात्र रहेको सपना आज हाम्रो जीवनको सबैभन्दा सुन्दर सम्झनामध्ये एक बनेको छ ।’ शिल्पा पछिल्लो पटक आफैँले निर्माण गरेको फिल्म ‘देवी’मा देखिएकी थिइन्, जुन २०८१ सालमा रिलिज भएको थियो । तर, यो फिल्म व्यावसायिक रूपमा सफल हुन सकेन ।उनले सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘द ब्रेकअप’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । यसपछि उनले अभिनय गरेका ‘कागजपत्र’, ‘सानो मन’, ‘कठपुतली’, ‘लाइफ इन एलए’, ‘परस्त्री’, ‘फूलबारी’ जस्ता फिल्म प्रदर्शनमा आइसकेका छन् । उनी चाँडै नयाँ फिल्म ‘जलाकी’मा देखिँदैछिन् ।
७- अमेरिकाले क्युबामाथि आर्थिक दबाब बढाउँदै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मारको रुबियोले ट्रम्प प्रशासनको निर्णयको बचाउ गर्दै प्रतिबन्ध क्युबाली जनतामाथि नभई सत्तासँग जोडिएको आर्थिक सञ्जाललाई लक्षित गरिएको बताएका छन् । नयाँ प्रतिबन्धको मुख्य निशानामा क्युबाको क्रान्तिकारी सशस्त्र सेनाले सञ्चालन गर्दै आएको विशाल व्यापारिक समूह जीएइएसए परेको छ । साथै क्यानडाको कम्पनी शेरिट इन्टरनेशनलसँग संयुक्त रूपमा सञ्चालित मोआ निकल परियोजनामाथि पनि प्रतिबन्ध लगाइएको छ । त्यसपछि शेरिट इन्टरनेसनलले क्युबाबाट आफ्नो व्यवसाय समेट्ने घोषणा गरेको छ । यससँगै क्युबामा कम्पनीको ३२ वर्ष लामो उपस्थिति अन्त्य हुने भएको छ । विशेषज्ञहरूले यी प्रतिबन्धले पहिले नै कमजोर अवस्थामा रहेको क्युबाको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताएका छन् । क्विन्सी संस्थानसँग आबद्ध अनुसन्धानकर्ता ली स्लेन्करका अनुसार नयाँ कानुनी अधिकारअन्तर्गत अमेरिकाले अब तेस्रो देशका कम्पनी र नागरिकमाथि पनि कारबाही गर्न सक्नेछ । उनका अनुसार त्यस्ता कम्पनीका अमेरिकी सम्पत्ति रोक्का गर्न सकिनेछ भने लगानीकर्ता र कर्मचारीको अमेरिका भ्रमणमा समेत असर पर्न सक्छ । क्युबा मामिलाका विज्ञ तथा अर्थशास्त्री पाभेल भिडालले यी कदमलाई अत्यन्त चिन्ताजनक भनेका छन् । उनका अनुसार क्युबाको अर्थतन्त्र पहिले नै लगभग ठप्प अवस्थामा पुगेको छ । जनवरीदेखि अमेरिकाले इन्धन आपूर्ति रोकेपछि अवस्था अझ खराब बनेको उनले बताएका छन् । नयाँ प्रतिबन्धपछि जीएइएसएसँग आबद्ध विदेशी साझेदारहरू पनि टाढिन सक्ने उनको भनाइ छ, किनकि धेरै कम्पनीले अमेरिकी प्रतिबन्धलाई चुनौती दिने जोखिम उठाउन चाहँदैनन् । विशेषज्ञहरूका अनुसार जीएइएसएको क्युबाको अर्थतन्त्रमा अत्यन्त गहिरो प्रभाव छ । यो समूहले खुद्रा व्यापार, होटल, ट्राभल एजेन्सी, सवारी भाडा सेवा, वित्तीय संस्था तथा मुद्रा विनिमय सञ्जालसम्म नियन्त्रण गर्दै आएको छ । प्रतिवेदनहरूका अनुसार जीएइएसएको प्रभाव क्युबाको कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत क्षेत्रमा फैलिएको छ । सन् १९९० को दशकमा सोभियत संघ विघटन भएपछि र अमेरिकी प्रतिबन्ध कडा बनेपछि क्युबाली सेनाले यो व्यापारिक संरचना निर्माण गरेको थियो । लामो समयसम्म यसको नेतृत्व पूर्वराष्ट्रपति राउल कास्ट्रोका ज्वाइँ लुइस अल्बर्टो रोड्रिगेज लोपेज–कालेजाले गरेका थिए । उनको निधनपछि अनिया गिलर्मिना लास्त्रेसलाई जीएइएसएको नयाँ प्रमुख बनाइएको थियो । अमेरिकाले अहिले उनलाई पनि कालोसूचीमा राखेको छ । यता क्युबा सरकारले अमेरिकी प्रतिबन्धलाई ‘सामूहिक सजाय’ को संज्ञा दिएको छ । हाभानाले अमेरिका राजनीतिक दबाब सिर्जना गर्न क्युबाको अर्थतन्त्र कमजोर पार्न खोजिरहेको आरोप लगाएको छ । यसबाट सर्वसाधारण नागरिकले ठूलो कठिनाइ भोग्नुपरेको क्युबाको भनाइ छ । क्युबा अहिले नै लामो विद्युत् तथा पानी कटौती, इन्धन अभाव र खाद्य आपूर्ति संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा नयाँ अमेरिकी प्रतिबन्धले त्यहाँको आर्थिक तथा मानवीय संकट अझ गहिरिने आशंका गरिएको छ ।
८- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह केपी ओलीकै बाटोमा लागेको टिप्पणी गरेका छन् । शनिबार विशेष पत्रकार सम्मेलन गर्दै प्रसाईले ओलीले यति धेरै बर्ष लगाएर बनाएको बाटोमा बालेन यति छोटोसमयमै त्यहि बाटोमा गएको आरोप लगाए । उनले भने- ‘अहिले गाउँ तिर भोट हाल्ने मान्छे लुक्न थालेका छन् । अहिले ठ्याक्कै उल्टो भएको रैछ । केपी ओलीले ३४ बर्ष लगाएर जुन बाटोमा गएका थिए नी यिनीहरुलाई त एक महिना पनि लागेन । अहिले बालेनले ओलीले जस्तै सबै शक्ति आफ्नो हातमा लिएका छन् । बालेनले बन्दुकको शक्ति आफ्नो हातमा लिदैछन् । म बालेनलाई भन्न चाहन्छु, शक्ति भनेको जनता हो । बन्दुक होइन ।’ प्रसाईले भत्काउनुपर्ने विषय नभत्काएर सरकारले नभत्काउनुपर्ने विषय भत्काउदै हिडेको आरोप लगाए । प्रसाईँले आफु नयाँ सरकार गठन भएपछि सुरुका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताए । प्रसाईँले गरिब बस्तीमा डोजर चलाएर घर भत्काइएको भन्दै त्यसबाट पीडित भएका नागरिकको आँसु लाग्ने चेतावनीसमेत दिएका छन् ।
९- अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्ने प्रयासस्वरूप आगामी साता पाकिस्तानको राजधानी इस्लामाबादमा पुनः वार्ता सुरु हुन सक्ने भएको छ । वाल स्ट्रिट जर्नलको प्रतिवेदनअनुसार दुवै देश मध्यस्थकर्तामार्फत सम्भावित सम्झौताको मस्यौदामा काम गरिरहेका छन् । उक्त मस्यौदाले करिब एक महिना लामो औपचारिक वार्ताको बाटो खोल्न सक्ने बताइएको छ । प्रतिवेदनमा अमेरिकी पक्षले प्रस्ताव गरेको १४ बुँदे मस्यौदामा इरानको आणविक कार्यक्रम, होर्मुज जलडमरूमध्य क्षेत्रमा तनाव घटाउने उपाय तथा इरानसँग रहेको उच्च संवर्द्धित युरेनियम भण्डार अर्को देशमा पठाउने विषय समावेश गरिएको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट छिट्टै जवाफ आउने अपेक्षा रहेको बताएका छन् । उनले वार्ता सकारात्मक दिशामा अघि बढे युद्धविरामको अवधि थप लम्ब्याउन सकिने संकेत पनि दिएका छन् । यता अल जजिराको प्रतिवेदनअनुसार इरानले आफ्नो आणविक कार्यक्रम वा उच्च संवर्द्धित युरेनियमको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । यसैबीच राष्ट्रपति ट्रम्पले इरानसँग सहमति नभए अमेरिका फेरि ‘प्रोजेक्ट फ्रिडम’ सञ्चालन गर्न तयार रहेको संकेत दिएका छन् । उनका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा रोकिएका व्यापारिक जहाजलाई सुरक्षित रूपमा बाहिर निकाल्न उक्त अभियान पुनः सुरु गर्न सकिनेछ । ट्रम्पले यस पटक अभियानलाई ‘प्रोजेक्ट फ्रिडम प्लस’ नाम दिएर अघि बढाइने बताएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै विषयमा सहमति नभए र सम्झौतामा हस्ताक्षर हुन नसके अमेरिका अर्को विकल्प अपनाउन बाध्य हुने चेतावनी दिएका छन् ।
१०- पश्चिम बंगालको नयाँ मुख्यमन्त्रीका रूपमा शुभेन्दु अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । शनिबार ब्रिगेड परेड ग्राउन्डमा राज्यपालले अधिकारीलाई मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् । योसँगै पश्चिम बंगालमा बिजेपी युगको शुरुवात भएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न केन्द्रीय मन्त्री र राज्यका मुख्यमन्त्री सहभागी भएका थिए । मुख्यमन्त्रीसहित अन्य पाँच जनाले मन्त्रीको शपथ लिएका छन् । अधिकारीलाई विधायक दलको बैठकले शुक्रबार सर्वसम्मत रूपमा नेता चयन गरेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । बैठकमा केन्द्रीय गृहमन्त्री समेत रहेका अमित शाह केन्द्रीय पर्यवेक्षकका रूपमा सहभागी भएका थिए । प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शुभेन्दु अधिकारीको नाम प्रस्ताव गरेका थिए । त्यसपछि उपस्थित सबै विधायकको समर्थनपछि अमित शाहले औपचारिक घोषणा गरेका थिए । अमित शाहले चुनाव प्रक्रिया सम्पन्न भइसकेपछि विभिन्न प्रस्ताव र समर्थन प्राप्त भएको, तर सबैले एउटै नाममा समर्थन जनाएकाले शुभेन्दु अधिकारीलाई पश्चिम बंगाल विधानमण्डल दलको नेता घोषणा गरिएको बताएका छन् । अब नयाँ मन्त्रिमण्डलमा मन्त्रालय बाँडफाँट, सरकारको प्राथमिकता तथा प्रशासनिक संरचनाबारे समेत छलफल भएको छ । पश्चिम बंगालका लागि अमित शाहलाई केन्द्रीय पर्यवेक्षक तथा मोहन चरण माझी लाई सह–पर्यवेक्षक तोकिएको छ । हालै सम्पन्न विधानसभा चुनावमा भाजपाले ऐतिहासिक सफलता हासिल गरेको थियो । २९४ सदस्यीय विधानसभामा भाजपा २०६ सिट जित्दै पहिलोपटक पश्चिम बंगालमा सरकार गठनको अवस्थामा पुगेको हो । सत्तारुढ तृणमूल कांग्रेस भने ८० सिटमा सीमित भएको छ ।
११- तीन पटकको विजेता कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग २०२६ को सुरुआत निकै निराशाजनक बनाएको थियो । पहिलो ६ खेलसम्म जित निकाल्न नसकेको टोलीमाथि सुरुमै प्रतियोगिताबाट बाहिरिने खतरा बढेको थियो । तर कप्तान अजिन्क्य रहाणेको नेतृत्वमा टोलीले शानदार पुनरागमन गरेको छ । लगातार चार खेल जितेको कोलकाताले शुक्रबार दिल्ली क्यापिटल्सलाई आठ विकेटले हराउँदै अन्तिम चार पुग्ने सम्भावना जीवित राखेको हो । यससँगै अंक तालिकामा पनि रोचक प्रतिस्पर्धा देखिएको छ । सनराइजर्स हैदराबाद ११ खेलबाट सात जितसहित १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पञ्जाब किंग्स १० खेलमा १३ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी रोयल च्यालेन्जर्स बेङ्गलुरु, राजस्थान रोयल्स र गुजरात टाइटन्स समान १२ अंकसहित क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन् । चेन्नई सुपर किंग्स १० अंकसहित छैटौँ स्थानमा छ । दिल्लीमाथिको जितपछि कोलकाता सातौँ स्थानमा उक्लिएको छ । टोलीले १० खेलमा चार जित हासिल गरेको छ भने एक खेल रद्द हुँदा प्राप्त एक अंकसहित कुल नौ अंक बनाएको छ । पराजित दिल्ली भने ११ खेलबाट आठ अंकसहित आठौँ स्थानमा झरेको छ । मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स समान छ अंकसहित क्रमशः नवौँ र दशौँ स्थानमा रहेका छन् । सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा भने कुनै परिवर्तन भएको छैन । हैदराबादका हेनरिक क्लासेनले ११ खेलमा ४९४ रन बनाउँदै शीर्ष स्थान कायम राखेका छन् । त्यस्तै बेङ्गलुरुका भुवनेश्वर कुमारले १० खेलमा १७ विकेट लिएर अग्रता जोगाएका छन् । अब कोलकाताका लागि बाँकी खेल ‘गर या मर’ को अवस्थामा पुगेका छन् । टोलीले बाँकी चारै खेल जित्न सके थप आठ अंक जोड्दै १४ खेलबाट १७ अंक पुर्याउनेछ, जसले अन्तिम चार पुग्ने सम्भावना बलियो बनाउनेछ । तर अबको एक हारले पनि टोलीको यात्रा लगभग समाप्त हुन सक्छ । कोलकाताले अब मे १३ मा रायपुरमा बेङ्गलुरुसँग खेल्नेछ । उता दिल्लीको अन्तिम चार पुग्ने सम्भावना भने लगभग समाप्त भएको मानिएको छ । त्यस्तै दिल्ली, मुम्बई र लखनउको प्लेअफको सम्भावना भने करिब करिब सकिएको छ ।
१२- राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान गरिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले शनिबार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । अध्यक्षका लागि ऐनको दफा १०३ग को उपदफा (१) को खण्ड (क) बमोजिम अर्थशास्त्र वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको व अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ । त्यस्तै विज्ञ सदस्यका लागि अर्थशास्त्र वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीम दश वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ । दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दिनुपर्ने र यस विषयमा थप जानकारीका लागि प्राधिकरणको वेभसाइट www.ncra.gov.np मा हेर्न सकिने समितिले जनाएको छ ।
१३- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । शनिबार मन्त्रालयले सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिहरूबाट जेठ ५ गते मंगलबार कार्यालय समयभित्र दरखास्त दिन आग्रह गरेको छ । उम्मेदवारहरूले आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम र संलग्न गर्नुपर्ने कागजातहरूको बारेमा विस्तृत जानकारी मन्त्रालयको वेबसाइट www.mocit.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।
१४- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ । शनिबार मन्त्रालयले सूचना प्रकाशित गर्दै प्राधिकरणको एक जना अध्यक्ष र चार सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको हो । यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नागरिकहरूले आगामी जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ । यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातलगायतको विस्तृत जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।
१५- अमेरिकाले यूएफओ अर्थात् अज्ञात उड्ने वस्तुसँग सम्बन्धित बहुचर्चित गोप्य फाइलहरूको पहिलो खेप सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएका यी फाइलहरूमा सयौँ नयाँ भिडिओ, तस्बिर तथा पुराना सरकारी अभिलेख समावेश छन् । विशेषगरी नासाको अपोलो अभियानसँग जोडिएका तस्बिर र अन्तरिक्ष यात्रीबीचको संवादले विश्वभर चासो बढाएको छ । सार्वजनिक दस्तावेजमा नासाको अपोलो–१२ र अपोलो–१७ अभियानसँग सम्बन्धित तस्बिर तथा संवादका अभिलेख राखिएका छन् । एउटा तस्बिरमा चन्द्रमाको सतह माथिको आकाशमा तीन वटा रहस्यमयी बिन्दु देखिएको दाबी गरिएको छ । सबैभन्दा धेरै चर्चा अपोलो–१७ अभियानको संवाद अभिलेखलाई लिएर भइरहेको छ । उक्त अभिलेखमा अन्तरिक्ष यात्रीहरूले उडानका क्रममा अन्तरिक्षयान नजिक चम्किरहेका वस्तु देखिएको बताएका छन् । एक सञ्चालकले नियन्त्रण कक्षसँग संवाद गर्दै ‘हाम्रा वरिपरि केही चम्किला कण वा टुक्रा गुज्रिरहेको देखियो’ भनेका छन् । त्यसको जवाफमा अर्का सञ्चालकले ‘मेरो झ्याल बाहिर धेरै चम्किरहेका वस्तु देखिएका छन्, दृश्य आतिशबाजी जस्तै लागिरहेको छ’ भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिनाअघि रक्षामन्त्री पेट हेगसेठलाई यूएफओ तथा कथित एलियन गतिविधिसँग सम्बन्धित अभिलेख सार्वजनिक गर्न निर्देशन दिएका थिए । फाइल सार्वजनिक भएपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सरकारका विभिन्न निकायलाई एलियन जीवन, यूएफओ तथा यूएपीसँग सम्बन्धित जानकारी जनतासामु ल्याउन निर्देशन दिएको बताएका छन् । यी फाइल सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एलियन जीवन र यूएफओबारे बहस तीव्र बनेको छ । तर अमेरिकी सरकारले यसअघि पनि एलियन जीवन वा एलियन प्रविधिको ठोस प्रमाण अहिलेसम्म फेला नपरेको स्पष्ट गर्दै आएको छ । पेन्टागनका अघिल्ला प्रतिवेदनहरूमा धेरै यूएफओ भिडिओ तथा तस्बिर अन्ततः सैन्य प्रविधि वा प्राकृतिक घटनासँग सम्बन्धित रहेको उल्लेख गरिएको थियो । सार्वजनिक गरिएका दस्तावेजमा सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यामा अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईले खिचेका केही तस्बिर पनि समावेश छन् । ती तस्बिरमा अमेरिकी सैन्य विमान नजिक केही रहस्यमयी वस्तु देखिएको दाबी गरिएको छ । साथै सैन्य चालकहरूले खिचेका तस्बिरमा तीव्र गतिमा उडिरहेका वस्तु विमान नजिकबाट गुज्रिएको देखिन्छ । एक गोप्य सैन्य प्रतिवेदनमा एक अधिकारीले आकाशमा धेरै चम्किला वस्तु तीव्र गतिमा अघि बढिरहेको देखेको बताएका छन् । प्रतिवेदनअनुसार तीमध्ये एउटा वस्तुलाई विमानको लक्ष्य प्रणालीले करिब २० सेकेन्डसम्म पछ्याएको थियो, तर पछि त्यो अचानक हराएको उल्लेख छ । नयाँ यूएफओ फाइलमा ओमानको खाडीमाथि देखिएको एउटा रहस्यमयी वस्तुको तस्बिर पनि सार्वजनिक गरिएको छ । सन् २०२४ मा इन्फ्रारेड संवेदकले आँसु आकारको तीव्र गतिमा उड्ने वस्तु अभिलेख गरेको दाबी गरिएको छ । यद्यपि अमेरिकी अधिकारीहरूले यी सबै प्रत्यक्षदर्शीका बयान मात्रै भएको स्पष्ट पारेका छन् । यसलाई एलियन वा यूएफओको आधिकारिक पुष्टि मान्न नहुने उनीहरूको भनाइ छ । अमेरिकी सांसदहरूले शुक्रबार सार्वजनिक गरिएका दस्तावेज केवल सुरुआत मात्र भएको बताएका छन् । आगामी दिनमा थप अभिलेख सार्वजनिक गरिने जनाइएको छ । तर अर्को चरणको फाइल कहिले सार्वजनिक हुन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । रक्षा मन्त्री हेगसेथले सरकारले यूएफओसम्बन्धी विषयमा बढी पारदर्शिता अपनाउन चाहेको बताएका छन् । जनतालाई सकेसम्म धेरै जानकारी उपलब्ध गराइने र त्यसपछि घटनाको अर्थबारे निष्कर्ष निकाल्ने जिम्मा जनताकै हुने सरकारको भनाइ छ । केही दस्तावेजका अंशमा साक्षीको पहिचान तथा संवेदनशील सैन्य अड्डासम्बन्धी जानकारी लुकाउन कालो रेखा लगाइएको छ । तर अधिकारीहरूले घटनासँग सम्बन्धित कुनै महत्त्वपूर्ण जानकारी नलुकाइएको दाबी गरेका छन् ।
१६- सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने आफ्नो राष्ट्रिय संकल्पलाई कार्यान्वयन गर्दै धरानमा आधारभूत अस्पताल निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा धरान उपमहानगरपालिकालाई उपयोग गर्न दिने प्रस्ताव स्वीकृत गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट पेश गरिएको उक्त प्रस्तावलाई सरकारले नागरिकको आधारभूत आवश्यकतासँग जोडेर प्राथमिकताका साथ अघि बढाएको प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताएकी छन् । यो निर्णयसँगै धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित छाता चोकमा रहेको कित्ता नम्बर २४ को १–४–१३–१ विघा जग्गामा अब स्थानीय स्तरको सुविधासम्पन्न अस्पताल बन्ने बाटो खुलेको छ। धरानमा हालसम्म आफ्नै आधारभूत अस्पताल नभएको यथार्थलाई मध्यनजर गर्दै संघीय सरकारले स्थानीय जनभावना र आवश्यकतालाई यो निर्णयमार्फत प्रत्यक्ष सम्बोधन गरेको छ। यस प्रक्रियामा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत सकारात्मक राय र सहमति प्राप्त हुनुले सरकारी निकायहरूबीचको प्रभावकारी समन्वयलाई पुष्टि गरेको विज्ञ दाहालले उल्लेख गरेकी छन् । विगतमा जग्गा प्राप्तिको विषयलाई लिएर विभिन्न राजनीतिक तह र सामाजिक सञ्जालमा विरोधका स्वरहरू सुनिए पनि सरकारले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी ठोस निकास दिएर आफ्नो जिम्मेवारी निभाएको उनको भनाइ छ ।
१७- सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एक महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा अब उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गरिने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यस डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले पहिलो चरणमा काठमाडौंका होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीहरूको विवरण संकलन गर्नेछ भने त्यसपछि क्रमशः यो प्रक्रियालाई अन्य जिल्लाहरूमा पनि विस्तार गरिने योजना रहेको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिहरूका लागि सरकारले चाँडै सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गर्ने तयारी गरेको छ। लगत संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदकहरूलाई तीन श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय परिचयपत्र भएका, नागरिकता मात्र भएका र कुनै पनि परिचयपत्र नभएका व्यक्तिहरूलाई छुट्टाछुट्टै समूहमा राखेर विवरण संकलन गरिनेछ। परिचयपत्र नभएकाहरूको हकमा होल्डिङ सेन्टरमै स्थापना गरिने संयुक्त डेस्कमार्फत तत्कालै राष्ट्रिय परिचयपत्र बनाउने विशेष व्यवस्था मिलाइएको छ, जसले गर्दा पहिचानको अभावमा कोही पनि वास्तविक भूमिहीन प्रक्रियाबाट वञ्चित हुनुपर्ने छैन। नयाँ डिजिटल प्रणालीमा प्रत्येक व्यक्तिको व्यक्तिगत तथा पारिवारिक विवरण मात्र नभई सामाजिक–आर्थिक अवस्था, आयस्रोत, शैक्षिक योग्यता र सीपको समेत अभिलेख राखिनेछ। बायोमेट्रिक र फोटोसहितको यो डेटालाई अन्य सरकारी प्रणालीसँग क्रस–जाँच गरी वास्तविक पीडितको पहिचान सुनिश्चित गरिनेछ। सहभागी प्रत्येक परिवारलाई डिजिटल परिचयपत्र उपलब्ध गराइनेछ र बैंक खाता नभएकाहरूको नयाँ खाता खोलेर सरकारले दिने राहत तथा अनुदान सिधै सोही खातामा पठाउने व्यवस्था मिलाइएको छ। यो अभियान सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर ९१ अन्तर्गत कार्यान्वयनमा ल्याइएको हो। प्रधानमन्त्री शाहले पनि यस अभियानबारे सार्वजनिकरुपमा स्पष्ट पारिसक्नु भएको छ। सरकारले यस लगतलाई केवल तथ्याङ्क संकलनमा सीमित नराखी रोजगारी, उद्यमशीलता र सामाजिक सुरक्षा योजनासँग समेत जोड्ने लक्ष्य लिएको छ। परिवारका सदस्यहरूको स्वास्थ्य अवस्था, दीर्घरोग र गर्भावस्था जस्ता संवेदनशील विवरणका आधारमा लक्षित सरकारी योजनाहरू कार्यान्वयन गर्न यसले थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
१८- इन्डोनेसियाको माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा दुई विदेशी नागरिकसहित तीन जना ट्रेकरको मृत्यु भएको छ । प्रहरीका अनुसार ज्वालामुखी विस्फोट हुँदा पहाड क्षेत्रमा २० जना ट्रेकर रहेका थिए । तीमध्ये नौ जना सिङ्गापुरका नागरिक थिए भने अन्य इन्डोनेसियाली नागरिक रहेका थिए । हालसम्म १५ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ । केही व्यक्तिलाई सामान्य चोट लागेको जनाइएको छ । विस्फोटपछि ज्वालामुखीबाट करिब १० किलोमिटरसम्म खरानी र धुवाँको मुस्लो आकाशतर्फ उडेको थियो । प्रशासनले आसपासका क्षेत्रमा खरानी खस्न सक्ने चेतावनी जारी गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । इन्डोनेसिया ज्वालामुखी निगरानी एजेन्सी ले गत डिसेम्बरदेखि ज्वालामुखीको क्रेटर वरिपरि चार किलोमिटर क्षेत्रलाई प्रतिबन्धित घोषणा गरेको थियो । प्रहरीले ट्रेकरहरूले चेतावनी बोर्ड र सुरक्षा अलर्ट बेवास्ता गरेको जनाएको छ । घटनापछि प्रहरीले एक ट्रेकिङ गाइड र एक भरियालाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि पर्यटकलाई प्रतिबन्धित क्षेत्रमा लगेको आरोप लगाइएको छ । अधिकारीहरूले घटनामा आपराधिक कारबाही हुन सक्ने बताएका छन् ।
१९- इरान युद्धको असर अब चीनको ऊर्जा आपूर्तिमा पनि देखिन थालेको छ । अप्रिल महिनामा चीनको कच्चा तेल आयात २० प्रतिशतले घटेको छ । होर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावका कारण तेल ट्यांकरहरूको आवागमन प्रभावित भएपछि चीनको आयातमा गिरावट आएको हो । चीनको भन्सार विभागको तथ्यांकअनुसार अप्रिलमा चीनले ३ करोड ८५ लाख मेट्रिक टन कच्चा तेल आयात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कम हो । यो स्तर जुलाई २०२२ यताकै सबैभन्दा कम रहेको बताइएको छ । चीनले आफ्नो आवश्यकताको करिब आधा कच्चा तेल मध्यपूर्वी देशहरूबाट खरिद गर्दै आएको छ । प्रतिवेदनअनुसार होर्मुज जलडमरूमध्यमा बढेको संकट र समुद्री मार्गमा तनाव चुलिँदा तेल तथा प्रशोधित इन्धन बोकेका जहाजहरूको संख्या घटेको छ । जहाज अनुगमन गर्ने कम्पनी केप्लरका अनुसार समुद्री मार्गबाट चीनमा हुने कच्चा तेल आयात घटेर दैनिक ८० लाख ३० हजार ब्यारेलमा सीमित भएको छ । यो पनि जुलाई २०२२ पछिकै सबैभन्दा न्यून स्तर हो । अप्रिल महिनामा चीनको प्राकृतिक ग्यास आयात पनि १३ प्रतिशतले घटेर ८४ लाख २० हजार टनमा झरेको छ । यद्यपि चालु वर्षको पहिलो चार महिनाको समग्र तथ्यांक हेर्दा चीनको कुल तेल आयात अझै अघिल्लो वर्षभन्दा १ दशमलव ३ प्रतिशतले बढी रहेको छ । जनवरीदेखि अप्रिलसम्म चीनले १८ करोड ५३ लाख टन कच्चा तेल आयात गरेको तथ्यांकमा उल्लेख छ ।
२०- कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १४३ रनको लक्ष्य पछाएको कोलकोताले १४.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा फिन एलेनले अविजित ४७ बलमा १०० रनको शतकीय पारी खेलेका थिए भने क्यामरुन ग्रीनले ३३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो । दिल्लीका लागि पाथुम निसन्काले सर्बाधिक ५० रन बनाए भने आशुतोष शर्माले ३९ र के एल राहुलले २३ रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर कार्तिक त्यागी र अनुकुल रोयले २-२ विकेट लिएका थिए । यो कोलकोताको यस सिजनमा लगातार चौथो जित हो ।१० खेलमा ९ अंक हासिल गरेको कोलकोता सातौं स्थानमा उक्लिएको छ । त्यस्तै दिल्ली क्यापिटल्सको भने यो सातौं हार हो । यो हारपछि दिल्लीको प्लेअफको सम्भावना लगभग सकिएको छ । ११ खेलमा ८ अंक रहेको दिल्ली आठौँ स्थानमा झरेको छ । जारी आइपिएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ ।