असोज ३, काठमाडौं । मलेसियाले प्लान्टेशन क्षेत्रमा ३२ हजार विदेशी कामदार ल्याउने भएको छ । विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीनरूपमा गम्भीर घाटा भैइरहेको भन्दै मलेसियाले प्लान्टेशन क्षेत्रमा विदेशी कामदार ल्याउने बताएको हो ।
मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनले प्लान्टेशनमा श्रमिकको अभावलाई कम गर्न तत्काललाई करिब ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति सरकारले दिने निर्णय गरेको बताएको स्थानीय दि स्टार अनलाइनले जनाएको छ ।
केही समयअघि यहा‘को एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एसिसिसिआईएम)ले प्लान्टेशनमा विदेशी कामदार भर्ना लिन मलेसिया सरकारलाई अनुरोध गरेको थियो ।
मन्त्री मुरुगनले विदेशी कामदार ल्याउने तयारी स्वरूप मानव संशाधन मन्त्रालयले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २ हजार क्षमताको कोभिड आइसोलेसन केन्द्र स्थापना गर्ने पनि बताए । उनले उक्त केन्द्र सञ्चालनका लागि स्ट्यान्डर्ड अपरेटिभ प्रासिड्युर (एसओपी) पनि बनाइरहेको बताए ।
एसिसिसिआईएमका अध्यक्ष लो किआन चुआनले विदेशी कामदारलाई प्रवेश दिने सरकारी प्लान्टेशन क्षेत्रमा देखिएको श्रमिकको अभाव हट्ने बताएका छन् । मलेसियामा कोभिडको संक्रमणपछि नयाँ विदेशी कामदारको एप्रूभल दिइएको छैन ।
पाम आयल मलेसियाको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ भने त्यहाँको पाम आयलले विश्व बजारमा करीब एक तिहाइभन्दा बढीको आपूर्ति दिइरहेको छ । मलेसियाको प्लान्टेशन उद्योगमा सन् २०१० मा ६९ प्रतिशत विदेशी कामदार रहेका थिए भने सन् २०१५ मा विदेशी कामदारको उपस्थिति ७५ प्रतिशत पुगेको थियोे ।
हाल पनि विदेशी कामदारको निर्भरता यथावत रहेको मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मलेसियाले आफ्ना नागरिक र अटोमेसनका आधारमा विदेशी कामदारको निर्भरता हटाउने बताए पनि पर्याप्त इन्सेन्टिभ नपाएको भन्दै स्थानीय कामदार प्लान्टेशनको रोजगारीमा आकर्षित नभएको र अटोमेसनका लागि समय लाग्ने बताइएको छ ।