भदौ ३१, काठमाडौँ। अधिकांश मन्त्रालय मन्त्रीविहीन रहेका कारण सिंहदरबारमा आउने अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन् । महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका अनुसार सिंहदरबारमा दैनिक ६ सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन् ।

तर, मन्त्रालय मन्त्रीविहीन भएकाले अधिकांश सेवाग्राही रित्तो हात फर्किने गरेका छन् । कास्कीबाट पर्यटनसम्बन्धी काम लिएर बुधबार पर्यटन मन्त्रालयका आएका पेशल आचार्यले २ महिनादेखि आफ्नो फाइल मन्त्रालयमा अड्किएको बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘सचिवज्यूले मन्त्री नआई फाइल सदर हुँदैन भन्नुहुन्छ, अझै मन्त्री कहिले आउने हो थाहा छैन, मन्त्री नहुँदा हामीजस्ता सेवाग्राहीले सास्ती झेल्दै छौं ।
धेरैवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रालयको नीतिगत फाइल सदर गर्नमै अहिले बढी समय लाग्ने गरेको बताइएको छ । मन्त्री नभएका सम्बन्धित मन्त्रालयका सचिवहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दौड्नुपरिरहेको छ । त्यसै गरी, मन्त्रालयबाट हुने नीतिगत निर्माणमा पर्याप्त छलफलसमेत हुन नसकेको मन्त्रालयकै कर्मचारीहरूको गुनासो छ । उनीहरू भन्छन्– ‘मन्त्री नभएपछि धेरै काम नै हुँदैन, आयो हाजिर गर्यो, त्यसपछि घरतिर लाग्यो ।’ यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।