असार ३१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आहवान गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिसमा साउन ३ गते आइतबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा सङ्घीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दोस्रोपटक विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले साउन ३ गतेसम्म प्रतिनिधि सभाको बैठक आहवान गर्न फैसला गरेको थियो ।
