• २०८३ कार्तिक १ गते शनिवार

कांग्रेस सभापति गगन थापाले लिए शपथ

सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ३१, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन् ।

प्रतिज्ञा पत्र नाम दिइएको उक्त शपथग्रहण पत्रमा बाचनपछि हस्ताक्षर समेत गरेका छन् । शपथपछि नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले फुलमाला र खाता लगाएर स्वागत गरेका थिए । नवनिर्वाचित अन्य पदाधिकारी एवम सदस्यहरुको शपथ भने दशैं पछि हुने निर्वाचन समितिले जनाएको छ ।

सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन् । आज शपथग्रहणपछि सम्बोधन गर्दै थापाले आगामी दिनमा आफूले गर्ने निर्णय, सार्वजनिक रूपमा निर्वाह गर्ने भूमिका तथा सत्य र न्यायको पक्षमा उभिने व्यवहारबाट आफ्नो प्रतिबद्धताको परीक्षण हुने बताए ।

‘अबको अगाडिको यात्रा मेरो कर्मबाट हुन्छ । मंैले निर्णय कसरी गर्छु, सार्वजनिक बहसमा कसरी प्रस्तुत हुन्छु र न्यायको पक्षमा कसरी उभिन्छु भन्ने कुराले मेरो परीक्षण हुनेछ,’ उनले भने । कठिन समयमा आफूले कस्तो निर्णय लिन्छु र अप्ठ्यारो परिस्थितिमा सत्य तथा न्यायको पक्षमा उभिन सक्छु कि सक्दिनँ भन्ने कुराले नै आफ्नो प्रतिबद्धता प्रमाणित गर्ने उनको भनाइ थियो ।

सभापतिको जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै थापाले यससँग धेरै विषय जोडिएर आउने बताए । उनले सभापतिको पदलाई अहंकारको श्रीपेचका रूपमा नलिएको स्पष्ट पारे । ‘यो जिम्मेवारीले मलाई नागरिकहरूप्रतिको दायित्व पूरा गर्नका लागि जमिनमै उभ्याएको छ । यसले मलाई अहंकारको श्रीपेच लगाइदिएको होइन,’ उनले भने । थापाले नेपाली कांग्रेससँग लोकतन्त्रको ठूलो विरासत जोडिएको उल्लेख गर्दै उक्त विरासतको संरक्षण गर्नु पनि आफ्नो जिम्मेवारी भएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस