जेष्ठ १, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज जनस्वास्थ्यविद, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँग सामुहिक छलफल गर्नुहुँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।
यस्तो महामारीकाबेला पनि अक्सीजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको समाचार आउनु दुःखद् भएको बताउदै त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारवाही गरिने चेतावनी प्रधानमन्त्री ओलीले दिनुभएको छ । जनताको जिउधनको रक्षा गर्नु अहिले सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोभिड नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने बताउनुभयो ।
अक्सिजन सिलिण्डर, औषधिजन्य वस्तु, अस्पतालका शैया तथा एम्बुलेन्सको भाडासमेत चर्कोरुपमा असुलिरहेको सूचना आफूकहाँ पुगेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस्तो महामारीकाबेला कमाउनेतिर होइन, जनताको जिउज्यानको रक्षामा ध्यान केन्द्रित गर्नुहोस्, कसैले सरकारी मापदण्डभन्दा बढी रकम असुली गरी पीडित जनतालाई थप पीडा दिएको पाइएमा सरकारले कारवाही गर्छ ।”
आज भएको छलफल र विज्ञहरुको परामर्शका आधारमा सरकारले कार्ययोजना बनाई अगाडि बढ्ने र जनताको जिउधनको रक्षामा सरकारले कुनै कसर बाँकी नराखी आफ्नो संयन्त्र परिचालन गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले बैठकमा गर्नुभयो । साँझ साढे चार बजेदेखि शुरुभएको छलफल करिब चार घण्टा चलेको थियो ।