जेठ २५, काठमाडौं । इजरायली सेनाले इरानबाट प्रहार गरिएका सबै क्षेप्यास्त्रहरू आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरी नष्ट गरेको दाबी गरेको छ । इरानी सेनाले इजरायललाई कडा चेतावनी दिँदै लेबनानमाथिका आक्रमण नरोके थप विनाशकारी प्रहारको सामना गर्नुपर्ने जनाएको छ ।

इरानले बेरुतको दक्षिणी उपनगरलाई निशाना बनाउनुका साथै दक्षिणी लेबनानमा आक्रमण तीव्र बनाएर इस्राइलले सबै सीमा नाघेको आरोप लगाएको छ । यसैबीच, इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले अमेरिकासँग भएको युद्धविराम सबै मोर्चामा लागू हुने सर्तमा स्वीकार गरिएको जनाएको छ । सुरक्षा बलले लेबनानमा जारी इजरायली सैन्य कारबाही उक्त समझदारीविपरीत रहेको संकेत गरेको छ ।
उता, इजरायलका दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन गभिरले इरानी आक्रमणप्रति कडा प्रतिक्रिया जनाउँदै तेहरानले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।