वैशाख २, झापा । झापाका सीमावर्ती नाका बुधबार मध्य रातिदेखि सिल गरिएका छन् । भारतको पश्चिम बंगालमा जारी विधानसभा निर्वाचनका कारण सीमा सिल गरिएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आगामी शनिबार दार्जिलिङ जिल्लामा निर्वाचन रहेकाले त्यस क्षेत्रसँग जोडिने नेपाली सीमावर्ती नाका निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न ७२ घण्टा सिल गरिएको बताए । निर्वाचन सम्पन्न भएपछि शनिबार रातिबाट नाका सहज हुने जनाइएको छ । पश्चिम बंगालमा मार्च २७ देखि २९ अप्रिलसम्म आठ चरणमा चुनाव हुँदै छ । दार्जिलिङमा भने पाँचौं चरणमा शनिबार चुनाव हुँदै छ ।
झापाको पूर्वी नाका काँकडभिट्टा र दक्षिणी नाका भद्रपुरको साँधसीमा पश्चिम बंगालसँग जोडिन्छ ।