चैत २, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल सहित भारत मोतिहारी घर बताउने २२ वर्षीय उपेन्द्र कुसुवालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ६०४० नम्बरको टाटा सुमोलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार कुसुवालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध वानरेक्स ५० बोतल र नाइट्राभेट ३ सय ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत युपी राज्य गोरखपुर घर भएका ५५ वर्षीय रमेश दास र मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भएका २९ वर्षीय राम कुमार देउजा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो वीरगंज पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्दा तरकारी हालेको बोरामा उक्त लागूऔषध लुकाइछिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।