असोज २७, काठमाडौं । नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।
यससँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा भएको रोमान्चक खेलमा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो । खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान जमल भुयानको फ्रिकिकमा हेड मार्फत उनले उत्कृष्ट गोल गरेका थिए।
तर, खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए। मोहमद साद उद्दीनले अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।
त्यसअघि खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।
पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।
बंगलादेशसँगको बराबरीसँगै नेपालले ४ खेलमा ७ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा यथावत रहेको छ ।