• २०८३ बैशाख ३१ गते बिहिवार

जल, जमिन, जँगल र जडिबुटी नै समृद्ध कर्णालीका आधार : राष्ट्रपति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २६, जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारीले जल जमिन, जँगल र जडिबुटी नै समृद्ध कर्णालीको आधार भएको बताउनु भएके छ । आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनको शुभारम्भ गर्न जुम्ला पुगेकी राष्ट्रपतिले जैविक विविधतायुक्त कर्णाली भौगोलिक रुपमा विकट भएतापनि बुहमुल्य जडिबुटी, शिलाजित, विश्व प्रख्यात मार्सी चामल, स्याउ, सिमि र ओखर जस्ता अर्गानिक कृषि उपजको धनी क्षेत्र भएको बताउनु भएके हो ।

उहाँले ‘स्वर्गकी अप्सरा उपमा पाएको नेपालकै ठुलो रारा ताल, यहाँको बहुमुल्य जडिबुटी, शिलाजित, अग्र्यानिक कृषि उपज नै यहाँका अमुल्य सम्पति भएको बताउनु भयो । जल,जमिन,जडिबुटी र जँगलको समुचित प्रयोगले नै कर्णालीलाई समृद्ध बनाउने उहाँको भनाई थियो ।’ झाडापखाला र हैजाको प्रकोप खेप्ने कर्णालीमा मध्यपश्चिमकै स्वास्थ्य क्षेत्रको नक्षत्रको रुपमा उदाउदै गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुलुकलाई महत्वपूर्ण योगदान दिने उहाँको भनाई थियो ।

अब विश्वभरबाट कर्णालीमा डाक्टर पढ्न आउने वातावरणको सिर्जना गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शैक्षिक हब बनाउनु पर्नेमा उनले जोड दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिशु तथा मातृ मृत्युदर घटाई प्रसुती हुन नसकेका महिलालाई उद्वार गर्नु पर्ने राज्यको भार समेत घटाउने उहाँले बताउनु भयो ।

७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको आज राष्ट्रपति भण्डारीले शिलान्यास समते गर्नु भएको हो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले झाडा पखाला, हैजा जस्ता रोगको प्रकोपले सताउने कर्णालीमा प्रतिष्ठानले यो समस्याबाट मुक्ति दिएको बताउनु भयो । ‘२० वर्ष पहिले स्वास्थ्य शिविरमा पुग्दा जुम्लामा हैजा र झाडापखालाको प्रकोपले सताएको थियो,आज त्यहि जुम्लाले डाक्टर उत्पादन गर्दैछ ।’ उहाले भन्नुभयो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले प्रतिष्ठानको थप विकास र स्तरउन्नतीको लागि स्वास्थ्य मन्त्रालय तयार रहेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस