असोज २६, काठमाण्डाै । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ । बुटबल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उद्योग वाणिज्य मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यर्थाथ कुरा बताउनुपर्ने उल्लेख गर्नुभयो ।
नेता सिंहले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टिकरण दिनुपर्ने धारणा राख्नुभयो । शेरबहादुर देउवाले गरेको गल्तिको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष प्रचण्डले दिनुपरेको उल्लेख गर्दै नेता सिंहले भन्नुभयो, ‘गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने । प्रचण्ड जी ले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु पर्योल नी । यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टिकरण दिनुपर्छ ।’
प्रधानमन्त्री देउवालाइ आफू प्रम हुँदा घटाएको आइजिपी काण्ड र सर्वोच्च अदालतका न्यायाधीश सुशिल कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि अनुरोध गर्दै नेता सिंहले कांग्रेसँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रम केपी ओलीले विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको भनाइ थियो । मोतिपुर घटनाको यर्थाथ सार्वजनिक गर्न माग गर्दै नेता सिंहले गोली लागेर ४ जनाको ज्यान जानु दुःखद भएको साथै सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाउनुभयो ।