फागुन २८, हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापर्बाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो ।
विद्युतगृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहँदै आएको सिंहले बताउनुभयो । दैनिक लोडसेडिङको समय बढ्न थालेपछि तीन दर्जन यससँग सम्बन्धित व्यवसाय मर्कामा परेका छन् । दिउँसो समयमै विद्युत् आपूर्ति नभएर लोडसेडिङ हुँदा विद्युत्को माध्यमबाट हुने काम ठप्प भएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । यस्तै सदरमुकाम सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्नसमेत समस्या बनाएको छ ।
पानी अपुग हुने भएर वितरण केन्द्रले विद्युतगृहमा दुईवटा स्टक पानीट्याङ्की बनाए पनि यसको प्रयोग आउन सकिरहेको छैन । ठेकेदारले बर्सेनि मर्मतका नाममा आफूले पैसा लिन पाउने भएका कारण पनि यस्तो समस्या आउने गरेको हो । ठेकेदारले मर्मतका नाममा बर्सेनि पैसा खान पाउने भएपछि समयमै मर्मत गर्न नसकेको एक स्थानीयवासीले बताएका छन् ।