भदौ २६, काठमाडौं । समाचार संकलनका लागि काठमाडौंस्थित मेरियट होटल पुगेका एभिन्युज टेलिभिजनका पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर धानाकर्षण भएको जनाएको छ।
एभिन्युजका संवाददाताद्वय शीतल रिजाल र सुरेश रजकमाथि शुक्रबार राति दुर्व्यवहार गर्दै क्यामेरा खोसेर तोडफोड गर्ने प्रहरीमाथि महासंघले कारबाहीको मागसमेत गरेको छ।
एमसिसी उपाध्यक्ष फातिमा सुमार र केही राजनीतिक दलका नेताबीच भेटघाट हुने खबर पाएपछि समाचार संकलनका लागि शुक्रबार राति ११ बजे मेरियट होटल पुगेका पत्रकारद्वय रिजाल र रजकलाई प्रहरीले डेढ घण्टा नियन्त्रणमा लिएर समाचार संकलनमा रोक लगाएको महासंघले जनाएको छ।
महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यो हर्कतले प्रेसको संवैधानिक अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको ठहर छ। महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने प्रहरीको यो ज्यादतीको कडा शब्दमा भत्सर्ना गर्दछ।’
महासंघले घटनाको छानबिन गरी दोषी प्रहरीमाथि कानुनी कारबाही माग गर्दै प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ।
यस्तै प्रकाशित समाचारको विषयलाई लिएर महोत्तरीस्थित रेडियो रुपान्तरण १०६.३ मेगाहर्जमा कार्यरत सञ्चारकर्मी नागेन्द्र साहलाई सर्लाहीस्थित धनकौल गाउँपालिका–४ का कुन्दन मिश्रा (राजन) भन्ने व्यक्तिले फोनबाट ज्यान मार्ने धम्की दिएको घटनाप्रति पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जानुपर्नेमा सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको जनाएको छ। महासंघ धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।