असोज ५, धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ अन्तर्गत प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न भएका छन्। दोस्रो दिनको पहिलो खेलमा बझाङ जिल्ला क्रिकेट संघ, दोस्रो खेलमा धनगढी स्पोर्टस् क्लब र तेस्रो खेलमा घटाल लायन्स श्रीनगर युथ क्लब विजयी भएका छन्। चौथो खेल भने भारी वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

बझाङको शानदार जित
दोस्रो दिनको पहिलो खेलमा बझाङ जिल्ला क्रिकेट संघले धनगढी योद्धाजलाई २८ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बझाङले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १२० रनको बलियो योगफल तयार गरेको थियो।
बझाङका लागि लोकेन्द्र चन्दले आक्रामक अर्धशतक प्रहार गर्दै ३६ बलमा ७ चौका र ५ छक्काको मद्दतले ६८ रन बनाए। त्यस्तै अविनास सिंहले केवल १३ बलमा ३ चौका र ४ छक्कासहित ४३ रनको विस्फोटक इनिङ खेले। धनगढी योद्धाजका बलर विरेन्द्र चन्दले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए भने दीपक कप्डेलले २ ओभरमा २५ रन तथा रोशन बमले २ ओभरमा २५ रन खर्चेर २–२ विकेट हात पारे।
१ सय २१ रनको लक्ष्य पछ्याएको धनगढी योद्धाजले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो। विशाल खड्काले २७ बलमा ३ चौका र ४ छक्कासहित ४४ रन बनाए। विरेन्द्र चन्दले ४ बलमा २ छक्कासहित १२ तथा दीपक कप्डेलले ४ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाए।
बझाङका सुशील रावलले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए भने लोकेन्द्र चन्दले २ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका लोकेन्द्र चन्द प्लेयर अफ दी म्याच घोषित भए।
धनगढी स्पोर्टस् क्लबको ५९ रनको फराकिलो जित
दोस्रो दिनको दोस्रो खेलमा धनगढी स्पोर्टस् क्लबले कैलाली जिल्ला क्रिकेट संघ प्रशिक्षण केन्द्रलाई ५९ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको धनगढी स्पोर्टस् क्लबले १० ओभरमा ५ विकेट गुमाउँदै १२६ रन बनाएको थियो। निश्चल क्षेत्रीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन बनाए। राहुल भण्डारीले १७ बलमा ६ छक्काको मद्दतले अविजित ४३ रनको योगदान दिए। विजय रानाले १५ बलमा २ चौका र २ छक्कासहित २७ रन जोडे।
कैलाली जिल्ला क्रिकेट संघ प्रशिक्षण केन्द्रका अभिषेक बिष्टले २ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। १२७ रनको लक्ष्य पछ्याएको प्रशिक्षण केन्द्र भने १० ओभरमै ६७ रनमा अलआउट भयो। कप्तान आयुश ढुङ्गानाले २४ बलमा ४ चौका र २ छक्कासहित ३७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
धनगढी स्पोर्टस् क्लबका राहुल भण्डारीले २ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए। निश्चल क्षेत्रीले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए। उत्कृष्ट बलिङ तथा ब्याटिङ प्रदर्शन गरेका राहुल भण्डारी प्लेयर अफ दी म्याच घोषित भए।
घटाल लायन्स श्रीनगर युथ क्लबको रोमाञ्चक जित
दोस्रो दिनको तेस्रो खेलमा घटाल लायन्स श्रीनगर युथ क्लबले एस.पी.ए. कलेज क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको एस.पी.ए. कलेज क्रिकेट क्लबले १० ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।
एस.पी.ए.का लागि शंकर बोहराले १२ बलमा ३ चौका र ३ छक्कासहित अविजित ३५ रन बनाए। सुर्यांशु कोइरालाले २० बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए। किरन धामीले ९ बलमा १६ तथा सागर साउँदले ११ बलमा २ चौका र १ छक्कासहित १५ रन जोडे।
घटाल लायन्सका निर्मल गुरुङले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए। मनसुन सिंहले २ ओभरमा १३ रन र निरज पार्कीले २ ओभरमा ३१ रन खर्चेर १–१ विकेट लिए।
१०६ रनको लक्ष्य पछ्याएको घटाल लायन्सले ९.३ ओभरमै ५ विकेट गुमाएर १०८ रन बनाउँदै खेल जित्यो। अभिशेक थापाले १४ बलमा ५ चौका र १ छक्कासहित २८ रन बनाए। सुमित महर्जनले १२ बलमा ३ छक्कासहित २२ रन जोडे।
त्यस्तै निर्मल गुरुङले मात्र ५ बलमा ३ छक्का प्रहार गर्दै अविजित २० रन बनाए। दिलबहादुर बोहराले ११ रनको योगदान दिए। एस.पी.ए.का लाल महताले २ ओभरमा २५ रन खर्चेर १ विकेट, विमल कटुवालले २ ओभरमा ७ रन खर्चेर १ विकेट तथा हिमाल पन्तले २ ओभरमा २४ रन खर्चेर १ विकेट लिए।
बलिङसँगै ब्याटिङमा पनि महत्वपूर्ण योगदान दिएका निर्मल गुरुङ प्लेयर अफ दी म्याच घोषित भए।
भारी वर्षाका कारण चौथो खेलमा अंक बाँडियो
दोस्रो दिनको चौथो खेलमा चैतन्य पाठशाला र लम्की–चुहा नगरपालिकाबीचको खेल भने वर्षाका कारण पूरा हुन सकेन। टस जितेर ब्याटिङ गरेको लम्की–चुहा नगरपालिकाले ७ ओभरमा ३ विकेट गुमाउँदै ४२ रन बनाएको अवस्थामा भारी वर्षा सुरु भएपछि खेल रोकिएको थियो। कप्तान रविन भण्डारीले १८ बलमा २ चौकासहित १४ रन तथा रोशन शाहीले १३ बलमा २ चौकासहित १३ रन बनाए।
चैतन्य पाठशालाका हिक्मत महराले १ ओभरमा १२ रन खर्चेर १ विकेट, धिरज साउँदले १ ओभरमा ९ रन खर्चेर १ विकेट तथा सौर्य श्रेष्ठले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिए।
तर त्यसपछि परेको लगातार भारी वर्षाका कारण मैदान खेल्न योग्य अवस्थामा आउन नसकेपछि खेल पुनः सञ्चालन हुन सकेन। अन्ततः खेलको अवस्था र मैदानको परिस्थितिलाई मध्यनजर गर्दै दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको छ।
यससँगै टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको दोस्रो दिनमा बझाङ जिल्ला क्रिकेट संघ, धनगढी स्पोर्टस् क्लब र घटाल लायन्स श्रीनगर युथ क्लबले महत्वपूर्ण जित हात पार्दा चैतन्य पाठशाला र लम्की–चुहा नगरपालिकाले वर्षाका कारण अंक बाँड्नुपरेको छ। प्रतियोगितामा सहभागी टोलीहरूबीच फाप्ला क्रिकेट मैदानमा रोमाञ्चक प्रतिस्पर्धा जारी रहेको छ।