धनगढी। धनगढीमा विद्यालयस्तरीय फुटबलको विकास तथा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको ‘Asian Paints U-18 Boys & Girls All Nepal Inter-School Football Tournament–2026, Sudurpaschim Province’ सम्पन्न भएको छ। भदौ २७ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फ SPL Academy र महिलातर्फ जीवन ज्योति माध्यमिक विद्यालय च्याम्पियन बनेका छन्।

पुरुषतर्फको फाइनलमा SPL Academy ले मिलन विद्या निकेतनलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। यस्तै, महिलातर्फ जीवन ज्योति माध्यमिक विद्यालयले सिद्धार्थ माध्यमिक विद्यालयलाई ५–० गोलअन्तरले हराउँदै उपाधि जित्यो। उपाधि विजेता महिला तथा पुरुष टोलीलाई निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तको तर्फबाट जनही ११ हजार रुपैयाँ तथा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्दको तर्फबाट जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताको उद्घाटन समारोह अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीका अध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी राघवेन्द्र कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी थिए।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य तथा सुदूरपश्चिम फुटबल संघका महासचिव कासीराम बोहरा, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

विद्यालय तहबाटै प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरमा स्थापित गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले विद्यालयस्तरमा फुटबलको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभालाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गरेको आयोजकको भनाइ छ।
प्रतियोगिताबाट छनोट भएका महिला तथा पुरुषतर्फका विजेता टोलीले अब सातै प्रदेशका विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। यससँगै सुदूरपश्चिमबाट छनोट भएका युवा खेलाडीहरूले राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन्।
विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने अभियानलाई निरन्तरता दिँदै यस्ता प्रतियोगिताले सुदूरपश्चिमको फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।