भदौ २६, दोहा, कतार । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज कतारमा भव्यरूपमा मनाइएको छ । नेपाली महिला समाज कतार र एनआरएनए एनसीसी कतारको महिला विभागको संयुक्त आयोजनामा प्रत्यक्ष र जुम अनलाइन बाट रमाइलो तिज कार्यक्रम २०२१ भव्यरूपमा मनाइएको हो ।
नेपाली राजदूतावासको सभा हलमा समाज कतारकी अध्यक्ष सरिता पौडेल भण्डारीको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज वाग्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नियोगका द्वितीय सचिव प्रविण भट्टराईलगायत कतारमा स्थापित संघ संस्था प्रमुख, महिला प्रतिनिधि, सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
विधिबत रूपमा उद्घाटन गर्दे सुरु गरिएको कार्यक्रम तथा उपस्थितलाई एनआरएनए कतारकी महिला संयोजक नानु घले व्लोनले स्वागत मन्तव्यले स्वागत गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत भारद्वाजले नेपाल संस्कृतिको धनी देश रहेको कुरा अरब दिपमा मनाइएको तीजले पुष्टि गरेको बताए । कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरूले तीजको शुभकामना आदान प्रदान सहित शुभेच्छा प्रकट गरेका थिए ।
समाजकी महासचिव कामना केसीले सञ्चालन गरेको कार्यक्रमको बीचबीचमा नाचगानसमेत गरिएको थियो । कार्यक्रमलाई समापन गर्दे सभापति पौडेलले कोरोनाका कारण खुल्लारूपमा कार्यक्रम गर्न नसकिए पनि आगामी दिनमा अवस्था सहज हुँदै जाने आशा व्यक्त गर्दै कतारका सबै महिलालाई समेट्दै थप नयाँ सहित अन्य कार्यक्रम गर्न सकिने वातावरण बन्ने विश्वास व्यक्त गरेकी थिइन् ।