जेठ ७, काठमाडौं । राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ–संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा हुने गरेको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सहकारी विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले जारी गरेको सूचनामा सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तविपरीत यस्ता गतिविधि हुनु दुःखद भएको उल्लेख गरिएको छ । यस्ता अभ्यासले सहकारी ऐन, २०७४ को उद्देश्य र कानुनी व्यवस्थामाथि प्रतिकूल असर पार्ने विभागको भनाइ छ ।
विभागका अनुसार यस्ता गतिविधिले सहकारी सदस्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढाउने मात्र होइन, सहकारी क्षेत्रमा सुशासन कायम गर्ने प्रयासलाई पनि कमजोर बनाउने खतरा रहेको छ ।
त्यसैले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्दै सहकारीको मूल मर्मअनुसार सञ्चालन गर्ने वातावरण बनाउन र सुशासन कायम गर्न सबै सरोकारवालालाई सहयोग गर्न विभागले आग्रह गरेको छ ।