माघ २९, काठमाडौं । राजनैतिक विरोध र्यालीको क्रममा माघ २८ गते काठमाडौंमा नेकपाका रघुजी पन्त लगायतका नेताहरुले नेपालीहरुको अराध्य देव भगवान श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुपमा गरेको अभद्र टिप्पणीमाथि विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विश्व हिन्दू परिषद नेपालले विज्ञप्ती जारी गदै पशुपतिनाथ विरुद्ध सार्वजनिक रुप मै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको बताएकोे हो ।
माद्ध २८ गते काठमाडौंमा नेकपा प्रचण्ड माधव समुहका नेता रघुजी पन्त लगायतका नेताहरुले पशुपतिनाथ विरुद्ध सार्वजनिक रुपमा गरेको अभद्र टिप्पणी गरेका थिए ।
विज्ञप्तीमा लेखिएको छ : राजनैतिक विरोध र्यालीको क्रममा मिति २०७७ माघ २८ गते काठमाडौंमा नेकपाका रघुजी पन्त लगायतका नेताहरुले नेपालीहरुको अराध्य देव भगवान श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुपमा गरेको अभद्र टिप्पणीमाथि विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
बहुसंख्यक नेपाली जनताको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै भगवान श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुप मै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको छ । रघुजी पन्त, झलनाथ खनाल, प्रचण्ड लगायतले दिएका वक्तब्यले उनी लगायत उनका पार्टी समेतको हिन्दू विरोधी चरित्र उजागर गरेको छ । कथित राजनेता द्वारा सार्वजनिक रुप मै हिन्दू विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको छ । यस्ता धर्म संस्कृति विरोधी तत्वहरु समग्र राष्ट्र कै लागि घातक रहेको हाम्रो ठहर हो ।
नेपालमा लगातार हिन्दू समाजमाथि चौतर्फी आक्रमण गरिनु प्रायोजित एवं सुनियोजित रहेको स्पष्ट देखिन्छ । दुषित मानसिकता भएका अपराधी समुहहरु हिन्दू समुदाय विरुद्ध सक्रिय रहेको तथ्य पछिल्लो घटनाक्रमले स्पष्ट भएको छ । सरकारले समेत हिन्दू विरोधी तत्वहरुलाई समय मै नियन्त्रण गर्न नसक्नुले सरकारमाथि समेत प्रश्न चिन्ह खडा भएको छ । हिन्दूहरूको धार्मिक आस्थामाथि प्रहार गर्ने जो कोहीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन नेपाल सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल जोडदार माग गर्दछ ।
नेपालको मौलिक धर्म संस्कृति विरुद्ध चौतर्फी आक्रमण भैरहेको वर्तमान परिस्थितिमा हिन्दू समाज संगठित हुनुको विकल्प छैन । हामी समय मै सावधान भएनौ भने परिस्थिति झन प्रतिकुल हुने निश्चित छ । हाम्रा विच सक्रिय रहेका असामाजिक हिन्दू विरोधी तत्वहरुको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्नुहुन सम्पुर्ण सनातन हिन्दू धर्मावलम्बीहरूलाई हार्दिक अपिल गर्दछौं ।
