• २०८३ जेष्ठ ४ गते सोमवार

निषेधाज्ञाको समयमा दुईसय लैङ्गिक हिंसा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७,काठमाडौँ । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेको पाइएको हो ।

केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना)महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना घटिरहेको बताए ।

यस्तै लमजुङको राइनास नगरपालिका–९ मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षीय एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उक्त घटनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न लाञ्छना लगाएर दोषी देखाई प्रहरीमा समेत उजुरी दर्ता गर्न अवरोध आएको केन्द्रले जनाएको छ ।

महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको सो केन्द्रले जनाएको छ । गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस