भदौ, २४ काठमाडौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई दिन लागेको सहयोग सामरिक नभएको, नेपालको संविधानभन्दा माथि नरहेको तथा यो सहयोग अमेरिकाको हिन्द–प्रशान्त रणनीति अन्तर्गतको नभएको जवाफ पठाएको छ।
एमसिसीले काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत अंग्रेजी र नेपाली दुवै भाषामा सबै प्रश्नको क्रमबद्ध जवाफ पठाएको छ। गतसाता सरकारले एमसिसीबारे उठेका विभिन्न ११ प्रश्न र सहायक प्रश्नसहित पत्र पठाएको थियो।
जवाफमा एमसिसीले नेपाललाई दिने सहायता सैनिक क्षेत्रसँग असम्बन्धित रहेको, तोकिएको समयमा काम सकियोस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी नेपालको संविधानभन्दा माथि नरहेको र यसका लागि प्रयोग हुने जमिन नेपालकै स्वामित्वमा रहने जवाफमा उल्लेख गरेको छ।
एमसिसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई जवाफ पठाएकी हुन्। उनले पठाएको जवाफमा एमसिसीमा कुनै पनि कुरा नलुकाइएको र गोप्य एजेन्डा नभएको उल्लेख गरेकी छन्। उनले एमसिसीविरुद्ध भ्रम र हल्ला फिँजाइएको उल्लेख गरेकी छन्।
जवाफी पत्रमा उल्लेख छ, ‘नेपालको संविधान एमसिसी–नेपाल कम्प्याक्टभन्दा माथि छ। सबै एमसिसी साझेदार देशसँग सम्पन्न एमसिसी कम्प्याक्ट अन्तरराष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तरराष्ट्रिय सम्झौता हुन्।’