वैशाख २६, रसुवा । रसुवा जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा फैलिँदै गएपछि उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको छ । रसुवामा वैशाख ५ गते पछिल्लोपल्ट कोरोना सङ्क्रमण पुष्टि भएपछि बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्स लगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो ।
कोरोना सङ्क्रमितलाई छिटोभन्दा छिटो सुविधायुक्त अस्पताल पुयाउन पाँचवटा एम्बुलेन्स तयार गरिएको र नपुग भएको खण्डमा अन्य सवारी साधनसमेत परिचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिइन् ।
जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्डमा २४, उत्तरगयामा १५, कालिकामा ५९, आमाछोदिङ्मोमा ११ एवं नौकुण्डमा ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । रसुवाका एकजना कोरोना संक्रमितको उपचारका क्रममा नुवाकोटको त्रिशुली अस्पतालमा मृत्यु भएको छ।