असार २४, तनहुँ । तनहुँको ऋषिङमा पहिरोले दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ। ऋषिङ ७ दधिवनमा पहिरोले पुरेर एक वृद्धाको ज्यान गएको हो।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको घर माथिबाट झरेको पहिरोले ६० वर्षीया देवीसरा मगरको घर बगाएको र उनी पनि पुरिएकी हुन । श्रीमान भागे पनि उनी भने भाग्ने क्रममा पहिरोले पुरिएको बताइएको छ। यस अघि घरगोठ पहिरोले पुर्दा बेपत्ता ऋषिङ ८ मझकोटमा खुमबहादुर आलेको पनि शव भेटिएको छ।
सैनिक, प्रहरी र सर्वसाधारणले करिब १२ घण्टापछि शव भेटेका थिए। ढुंगाले च्यापेको अवस्थामा उनको शव भेटिएको हो । गाउँपालिकाका अनुसार त्यस ठाउँमा अरु तीन घर पहिरोले बगाएको छ। अरु घरमा मानवीय क्षति नभए पनि सदस्य भने विस्थापित भएका छन्। त्यस क्षेत्रमा उद्धारका लागि सैनिक र प्रहरी परिचालित गरिएको थियो।