मंसिर १९, काठमाडौं । अलैँचीको मूल्य बढेको छ । पोहोर प्रतिमन(४० केजी) ३२ हजार रुपियाँसम्ममा बिक्री भएकामा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यो मूल्य असोज कात्तिकमा ५१ हजार रुपियाँसम्म पुगेको थियो ।
तीन वर्षअघि प्रतिमन २०–२२ हजार रुपियाँ हुने गरेको अलैँचीको मूल्य त्यसपछि क्रमशः बढिरहेको छ । २०५५र५६ सालदेखि अलैँचीको मूल्य बढ्दै गएर एक लाख रुपियाँ पुग्न थालेको हो ।
आकर्षक आम्दानी दिन थालेपछि धेरै किसान अलैँची खेतीतर्फ होमिएका छन् । लामो समयसम्म प्रतिमन २०–२२ हजार रुपियाँ मूल्य कायम रहेकामा अहिले अलैँचीको मूल्य बढेको हो । पछिल्लो समयमा राम्रो भाउ पाउन थालेपछि किसान उत्साहित हुन थालेका छन् । यसपालि नेपाल र भारतको सिक्किममा उत्पादन घट्दा अलैँचीको मूल्य बढेको हो ।