माघ २३, बैतडी। बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।
बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् । ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ ।
घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीच जङ्गलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला”, घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ । घटनालाई गम्भीररूपमा लिएक%A र दोषीलाई कानूनी कठघरामा ल्याइने बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “किशोरीको कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन ।
घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।