पौष १९, काठमाडौँ। स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलोकनकर्ताको सङ्ख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । सुरुका दिनमा एकरदुई जनाले मात्रै अनलाइनबाट टिकट काट्ने गरेकामा अहिले दैनिक १० जना पुगेका छन् ।
कोरोना भाइरसको जोखिमका कारण चिडियाखाना गएको चैत ७ गतेदेखि बन्द थियो । गएको मङ्सिर २५ गतेदेखि चिडियाखाना पुनः खुला गरिएको हो । चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चिडियाखाना खुला गरे पनि अवलोकनकर्ता उत्साहजनरुपमा आएको बताउनुभयो ।
लामो समयको बन्दपछि खुलेको यस चिडियाखानामा सुरुका दिनमा बढीमा ५०० अवलोकनकर्ता आउने गरेका थिए । अहिले दैनिक दुई हजारसम्म अवलोकनकर्ता आउन थालेका छन् ।व्यवस्थापक पोखरेलले भन्नुभयो, ‘जोखिम कायमै रहेकाले खुला गरे पनि अवलोकनकर्ता आउँछन् वा आउँदैनन् भन्ने विषयमा चिन्ता थियो तर आशाअनुरुप आएका छन्, पुनः सञ्चालनकै सुरुको दिन यही २५ गते ५०० मान्छे आएका थिए भने अहिले दैनिक दुई हजार अवलोकनकर्ता आउने गरेका छन्, कोरोनाको जोखिम थप नबढे आउँदो दिनमा अवलोकनकर्ता थपिनेछन् ।
चिडियाखाना प्रवेश पाए पनि बालबालिकाका लागि हुँदै आएको खेल गतिविधि सञ्चालन नहुँदा अवलोकनकर्ताले गुनासो गरेका छन् । छोरासहित लामो समयपछि चिडियाखाना घुम्न आउनुभएकी गोरखा घर बताउने सुशीला खड्काले बालबालिकाका लागि खेल्ने स्थान बन्द हुँदा भरपुर रमाइलो नभएको गुनासो गर्नुभयो । स्वास्थ्य मापदण्ड पूरा गर्दै उनीहरुका लागि खेल्ने स्थान सञ्चालन गर्नुपर्ने खड्काको भनाइ थियो । सुरक्षा मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् ।