फागुन १८, मोरङ । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार १९ वर्षीय सुदीप परियारलाई धरानबाट पक्राउ गरिएका हो ।
यसअघि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई जना मध्ये होटल सञ्चालक कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो भने रिकेश सिवा भन्ने मेहरमान दजीलाई पुर्पक्षका लागि जेल पठाएको थियो । घटनामा पीडित पक्षले ६ जनालाई प्रतिवादी बनाउँदै किटानी जाहेरी दिएका थिए । पक्राउ परेका ६ जनालाई यसअघि सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै छाडेको थियो ।
मृतकको नक्कली फोटो राखिएको विषय सार्वजनिक भएपछि प्रहरीले पुन अनुसन्धान मिसिल सरकारी वकिल कार्यालयमा पठाएको छ । बास्तोला मृत्यु प्रकरणको अनुसन्धान फाइलमा मृतकको भनेर फरक व्यक्तिको फोटो राखिएको पुष्टि भइसकेको छ । डिएसपी राईको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।