• २०८३ मङ्सिर ४ गते बिहिवार

सोलार र चुलो वितरणका नाममा ठगी गर्ने चार जना सार्वजानिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २०,जाजरकोट। नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार)र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–९ स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने यज्ञप्रसाद रेग्मी,  लक्ष्मीप्रसाद हमाल,  हरिचन्द्र बस्नेत र  मानबहादुर महतारा रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षकले जानकारी दिए । पक्राउ परेकाहरुबाट रु चार लाख रकम र कागजपत्रसमेत फेला पारेको जनाइएको छ ।

बारेकोट गाउँपालिका, नलगाड नगरपालिकाले ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएको थियो । पालिकाको अनमुतिअनुसार वडाध्यक्षहरुले नै अतिविपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य ऊर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने जनाउँदै प्रत्येक घरधुरीबाट रु तीन हजार ७५० सङ्कलन गरेका थिए । सोलार र चुलोको मूल्य रु २५ हजार पर्ने भए पनि रु २१ हजार २५० वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ग्रामीण विकास तथा क्लिन इन्भरमेन्टले व्यहोर्ने भन्दै उनीहरुले झुक्याएका बताइएको छ । उनीहरुले नगद बुझेको रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए ।

एउटै वडाबाट रु छ लाखसम्म सङ्कलन भइसकेको स्थानीयवासीको भनाइ छ । नलगाडका १३ वटै वडाबाट र बारेकोटका अधिकांश वडाबाट सङ्कलन गरिएको रकम वडाध्यक्षमार्फत उक्त संस्थालाई बैंकमार्फत पठाउने फाराम भरेको ४५ दिनभित्र सामान उपलब्ध गराउने उल्लेख गरिएको थियो । भरपाईलगायतका कुरामा समेत शङ्कास्पद देखिएपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको हो । नगरपालिकाले समेत संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकाले आफूहरु ठगीमा परेको स्थानीयवासीको भनाइ छ ।

आफ्नो संस्थाको नाम जोडेर रकम सङ्कलन गरिरहेको जानकारी पाएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आइतबार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको छ । केन्द्रका नायब कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज ढकालले अनाधिकृत दुष्प्रचार र गलत कार्य गर्ने संस्थासँग सजग रहन आग्रह गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस