• २०८३ बैशाख १९ गते शनिवार

कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने : नेता सिंह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
कात्तिक १५, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताउनुभएको छ । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले कांग्रेस कमजोर बन्दा देश र जनता दुवैले दुःख पाउने बताउनुभएको हो ।
कम्युनिष्टले गर्न नसकेको काम कांग्रेसले गरेको भए पनि कांग्रेसलाई कमजोर बनाउने काम भएको हुँदा आम जनताले दुःख पाउनुपरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो “संविधान जारी गर्ने, शान्ति सम्झौता गर्ने लगायतका महत्वपूर्ण काम कांग्रेसको नेतृत्वमा भएको छ, तर भोट माग्न जाँदा समस्या आउँछ ।” उहाँले १४ औं महाधिवेशनमा समयको माग, जनताको मर्म र संविधानको रक्षा गर्ने नेतृत्व छनोट गर्नुपर्ने बताउनुभयो ।
पार्टीलाई विधान अनुसार चलाउनु र जनताको भावना बुझ्न सकेमा मात्रै पार्टीलाई कसैले पछि पार्न नसक्ने उहाँले जिकिर गर्नुभयो ।
आगामी आम निर्वाचनमा पार्टीले आफ्नो तागतले एक्लै निर्वाचनमा जानुको विकल्प नरहेको उहाँको भनाइ थियो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आम निर्वाचनमा गठबन्धन विना निर्वाचन लड्ने तयारीमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चैतमा स्थानीय तहको निर्वाचन हुँदैछ, अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि हो, निर्वाचनका लागि होईन ।” आउँदो निर्वाचनमा पार्टीले जिल्लाका सबै तहमा जीत हासिल गर्नुपर्ने उहाँको भनाई थियो ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङ्का सभापति रमेश धमला, चिवतनका उपसभापति कैलाश कोइराला, क्षेत्रीय प्रतिनिधि सुशिला ढुङ्गानालगायतले पार्टी सङ्गठन बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस