• २०८३ बैशाख ९ गते बुधवार

न्यायाधीशद्वय भट्टराई र कार्कीद्वारा इजलास बहिस्कार

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १८, काठमाडौँ । संवैधानिक इजलासमा विवाद बढेपछि २ जना न्यायाधीशले इजलास बहिस्कार गर्नुभएको छ । यसलगत्तै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वरिष्ठताका आधारमा अर्को संवैधानिक इजलास गठन गर्ने घोषणा गर्नुभएको छ ।

संवैधानिक इजलासमा राखिएका बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठेपछि उहाँहरूलाइ हटाउन माग गरिएको थियो । तर उहाँ दुवै जनाले इजलास नछाड्ने बताएपछि अर्का दुईजना न्यायाधीश आनन्दमोहन भट्टराई र दीपक कार्कीले इजलासमा नबस्ने निर्णय गर्नुभएको हो । विवाद बढेसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबार सुनुवाइ हुन सकेन । अब अर्को इजालस वरिष्ठताका आधारमा जेठ २३ गते गठन हुने र सोही दिन मात्र उक्त मुद्दामाथि सुनुवाइ हुने प्रधानन्यायाधीश राणाले जानकारी दिनुभयो । साथै उहाँले अब गठन हुने इजलासमाथि प्रश्न नउठाउन समेत अनुरोध गर्नुभयो ।

दुई न्यायाधीश (श्रेष्ठ र केसी)को कार्यक्षमतामाथि आफूहरूको कुनै शंका नरहेको तर प्रश्न उठेपछि उक्त इजलासमा सँगै बस्न नसकिने भन्दै न्यायाधीशद्वय भट्टराई र कार्कीले बताउनुभयो । न्यायाधीशद्वय श्रेष्ठ र केसीको इजलासले गत फागुन २३ गते माग नै नगरिएको विषया प्रवेश गरेर नेपाको एकता खारेज गर्ने फैसला सुनाएको भन्दै अधिवक्ताहरूले उहाँहरू संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेका थिए ।

यसै विवादबारे मंगलबार बिहान प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल समेत भएको थियो । सो क्रममा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली- २०७४ संशोधन गर्ने र आइन्दा वरिष्ठताका आधारमा मात्रै इजलास गठन गर्ने सहमति गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस