पौष १७, काठमाडौँ। प्रहरीले जनतालाई पुर्याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा शुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ ।
यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको गुनासो पेटिका अब प्रदेशका अन्य सबै पालिकामा समेत राख्ने गरी तयारी अघि बढाइएको हो । तीन चरणमा प्रहरी गुनासो पेटिका प्रदेशका सबैजसो स्थानीय तहमा राखिने छ । सुझाव पेटिकामा प्राप्त सुझावले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन सघाउ पुगेकाले सुझाव पेटिकालाई व्यापक बनाउन लागिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी महानिरीक्षकले जानकारी दिनुभयो ।
प्रहरी कार्यालयमा वर्षौँदेखि गुनासो पेटिका राखिए पनि प्रहरीका गलत कामको उजूरी त्यहाँ नपर्ने हुनाले अब स्थानीय निकायमा सर्वसाधारणलाई गुनासो पेटिका राखिएको प्रदेश प्रहरी कार्यालयको निष्कर्ष छ । पहिलो चरणमा भरतपुर महानगर र हेटौँडा उपमहानगरसहित २५ नगरपालिका र जिल्ला सदरमुकाममा रहेको एउटा गाउँपालिकामा गुनासो पेटिका राखिएको थियो । अब दोस्रो चरणमा ७० गाउँपालिका गुनासो तथा सुझाव सङ्कलन पेटिका राखिने छ भने तेस्रो चरणमा आवश्यकतानुसार वडा कार्यालय समेतमा विस्तार गरिने प्रदेश प्रहरी कार्यालयको योजना छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा ‘गुनासो पेटिका’ राखेर प्रहरी–कर्मचारीका गलत कामको उजूरीसमेत सङ्कलन सुधारका लागि विविध काम गर्दै आइरहेको छ ।